खारेज भएका दुरसञ्चार सेवाप्रदायकको सम्पति प्राधिकरणले बिक्री गर्न पाउने

0
Shares

अब देखि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन अनुमति पत्र खारेज भएका वा रद्ध गरिएको दूरसञ्चार सेवा प्रदायकको सम्पति बिक्री गरी सम्पति व्यवस्थापन गर्न सक्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयारी पारेको अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पति व्यवस्थापन नियमावली २०७९ लाई सरकारले राजपत्रमा प्रकाशन गरी प्राधिकरणले सम्पति व्यवस्थापनको बाटो खुला गरेको हो ।

नियमावली अनुसार सेवा प्रदायकले अनुमतिपत्रको अवधि समाप्त हुनु अघि कम्तिमा एक बर्ष अघि त्यस्तो अनुमतिपत्रको अवधि समाप्त हुने व्यहोराको जानकारी सम्बन्धित अनुमति पत्र प्राप्त व्यक्तिलाई दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेछ ।

अनुमति पत्र स्वत रद्ध भएमा वा अनुमति पत्र खारेज भएमा त्यस्तो रद्ध वा खारेज भएको सूचना तत्काल राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।
सार्वजनिक रुपमा सूचना प्रकाशन भएपछि अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा ६ महिना अगावै सरकारलाई बुझाउनु पर्ने रोयल्टी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई बुझाउनु पर्ने कर, दस्तुर, महसुल, जरिबाना वा अन्य शुल्क भुक्तानी गर्नुपर्नेछ।

जस्तै, विद्युत, पानी, ढल निकास, टेलिफोन जस्ता सार्वजनिक उपयोगका सेवा वापतको शुल्क वा महसुल, प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने दस्तुर, शुल्क, जरिबाना वा अन्य रकम, श्रमिक तथा कर्मचारीको तलब, भत्ता, उपदान, सन्चयकोष तथा अन्य सुविधा वापतको रकम, आफनो सम्पति कुनै बैंक वा वित्तीय संस्थामा धितो वा बन्धक राखी ऋण लिएको भए त्यस्तो ऋण, घर, जग्गा, यन्त्र, उपकरण वा अन्य कुनै चल वा अचल सम्पति भाडा वा लिजमा लिएको भए त्यस बापतको भाडा वा लिज रकम अन्य कुनै दायित्व भए त्यस्तो दायित्व वापतको रकम भुक्तानी गर्न प्राधिकरणले सेवा प्रदायकलाई आवश्यक निर्देन दिन सक्नेछ । तर, सेवा प्रदायकले तत्काल भुक्तानी गर्न नसक्ने कारण देखाइ प्राधिकरणलाई निवेदन दिएमा प्राधिकरणले अधिकत्तम तीन महिनासम्मको अवधि थप गर्न सक्नेछ।

त्यस्तै, अनुमति प्राप्त व्यक्तिले सूचना प्रकाशन भएपछि अनुमतिपत्रको अवधि बहाल नरहेको सेवा प्रदायकले आफनो कुनै चल वा अचल सम्पति धितोमा राख्न बन्धक दिन वा बिक्री गर्न वा अन्य कुनै किसिमकोे सम्पतिको हक हस्तान्तरण गर्न सक्ने छैन ।

अनुमतिपत्रको अवधि समाप्त हुने दुरसञ्चार सेवा प्रदायक कम्पनीले अवधि समाप्त हुने सेवा प्रदायकले आफनो सम्पतिको नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रयोजनको लागि अनुमति पत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा दुई बर्ष अगावै हस्तान्तरणको कार्य योजना तयार गरी प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

कार्ययोजना बनाउदा अनुमतिपत्र प्राप्त व्यक्तिको नाममा नेपाल भित्र रहेको जग्गा र भवनको विवरण, दूरसञ्चार सेवा सञ्चालन गर्दा प्रयोगमा रहेको जडान भएको यन्त्र तथा उपकरण, प्रयोग भएको फ्रिक्वेन्सीको परिमाण, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सन्जाल, सेवा सञ्चालनमा प्रयोग भएका अन्य संरचनाको विवरण राख्नुपर्नेछ ।

प्राधिकरणले सम्पति विक्री गर्दा लिलाम बढाबढको माध्यमबाट विक्री गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।