सामलिङ पावर कम्पनीको धितोपत्रको दोस्रो बजारमा हुने सेयर कारोबार रोक्का गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीसँग ७२ घण्टे स्पष्टिकरण मागेको छ ।
कम्पनीले लाभांश प्रस्तावको सूचनामा समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का राख्दै ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको हो ।
कम्पनीले मंसिर २१ गते बुधबार बिहान ९ः३० बजे सञ्चालक समितिको बैठक बसेर सेयरधनीहरुलाई गत आव २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । सो सूचना नेप्सेमा मंसिर २१ गते कार्यालय समय सकिएपछि दिउँसो ३ः४२ बजे मात्रै कम्पनीले जानकारी दिएकाले कम्पनीको सेयर कारोबार रोक्का राखेर स्पष्टिकरण मागिएको हो ।
सेयरमूल्यमा प्रभाव पर्ने लगायतका अति संवेदनिशिल प्रकृतिका कुनै पनि निर्णय गर्दा कम्पनीले निर्णय हुने वित्तिकै तथा भोलिपल्ट कारोबार समय अगावै नेप्सेमा सार्वजनिक जानकारीमा ल्याउनुपर्ने प्रावधान रहेको छ । तर कम्पनीले उक्त व्यवस्था लत्याएको हो ।
नेप्सेले कम्पनीले के कति कारणबाट नेप्सेमा समयमा नै जानकारी नदिइएको हो, यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया