श्रृजनशील लघुवित्तको पहिलो सेयर कारोबार अधिकतम ९०६ रुपैयाँसम्म खुल्ने भएको छ ।
कम्पनीको पछिल्लो (आव २०७७।७८) परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको सेयर न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतम ९०६ रुपैयाँसम्मको रेञ्जमा खुल्नेछ ।
मंसिर २६ गते मंगलबार कम्पनीले नेप्सेमा प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ अंकित दरमा १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकरण भएको छ । उक्त साधारण सेयर मंगलबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर २६ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो । भदौ २७ गते बाँडफाँड भएको कम्पनीको सेयर तीन महिना ढिलो गरी नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारका लागि कारोबार संकेत एसएचएलबी (SHLB) दिएको छ । संस्थाको यहि कारोबार संकेतमा सेयर कारोबार खुल्नेछ ।
सनराइज क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले भदौ १५ देखि १९ गतेसम्म कर्मचारी सहित सर्वसाधारणमा ३ लाख ९३ हजार ७५० कित्ता (३६ प्रतिशत) सेयर बिक्री गरेको थियो । उक्त सेयर भदौ २७ गते बाँडफाँड भएको थियो । कम्पनीका संस्थापकहरुको ७ लाख कित्ता (६४ प्रतिशत) धितोपत्रमा लगानी रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लघुवित्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुन भएकाले मंसिर २८ गते बुधबारदेखि कम्पनीको सेयर कारोबार सुचारु हुनेछ ।
लघुवित्तको कम्पनीको प्रधान कार्यालय सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नम्बर ७, चोहर्वा रहेको छ । सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट सञ्चालन हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया