आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरका कारणले रोक्का रहेको सेयर कारोबार फुकुवा भएको छ ।
लघुवित्तको मंसिर २९ गतेको पत्रअनुसार लघुवित्तीय संस्थाको आधारभूत बाहेक अन्य सेयरधनीको सेयर कारोबार पुस ४ गते सोमबारदेखि फुकुवा गरिएको नेप्सेले जनाएको हो ।
कारोबार फुकुवासँगै लघुवित्तको पुस ५ गते मंगलबारदेखि नै धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुला हुनेछ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन कारोबार रोक्का राख्नुपर्ने व्यवस्था लागू भएसँगै कम्पनीको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा भएको हो ।
आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तबीच असार २२ गते बुधबार एक आपसमा गाभ्ने/गाभिने तथा मर्जरमा गएसँगै आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का रहेको थियो । मर्जर सम्झौतापछि नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।
प्रारम्भिक सहमति अनुसार दुई कम्पनीबीच १००ः७० को स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ । हाल आँधिखोला लघुवित्तको चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ छ ।
आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्जामा रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङमा छ । यसअघि धौलागिरि लघुवित्त बीच मर्जर सम्झौता रद्द भएपछि जेठ २७ गतेदेखि आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा भएको थियो ।
एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको लघुवित्त पुस मसान्तभित्रै सिवाईसी लघुवित्तसँग मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने तयारीमा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया