कृषि विकास बैंकको लागत बढ्दा खुद ब्याज आम्दानीमा गिरावट, नाफा भने बढ्यो

0
Shares

कृषि विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म ६० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.१३ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५५ करोड १४ लाख खुद नाफा कमाएको थियो। तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा २६ करोड १७ लाख रहेको छ ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । बैंकमा ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर छ । बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको रिटेर्न अर्निङ्ग ४ अर्ब ४५ करोड छ ।

समीक्षा अवधिमा बैंकले एक खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरेर एक खर्ब ११ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेपमा करिब ३.१६ तथा कर्जामा ०.६० प्रतिशतको सुधार आएको छ । जसबाट बैंकले १ अर्ब ६६ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा करिब आठ प्रतिशत कम हो।

बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य खर्चहरु घटाएर संचालन नाफा तथा खुद नाफामा बढाएको छ। बैंकको आधारदर घटेको छ भने कोषको लागत बढ्दा ब्याज आम्दानी खस्केको हो । निक्षेप र कर्जामा खासै उल्लेखीय सुधार देखिएको छैन् ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही घटेपनि अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च रहेको छ । बैंकको खराब कर्जा अनुपात ३.७ प्रतिशत छ। बैंकको आधार ब्याजदर १०.१८ प्रतिशत र कोषको लागत ७.३४ प्रतिशत रहेको छ। 

यस अवधिमा कृषि विकास बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको इपिएस २० रुपैयाँ ८५ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १७.९६ गुणा छ ।

कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने क्रममा छ । “एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।