सुपर मादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम

0
Shares

सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज पुस ७ गते बिहीबार अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । पुस २० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको कम्पनीले बुधबारसम्म मागभन्दा बढी आवेदन परेपछि बिहीबार कार्यालय समयछि निष्कासन बन्द गर्न लागेको हो ।

कहाँबाट दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले कम्पनीको साधारण सेयरमा एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन् । यस्तै आयोजना स्थलबाट आवेदन दिन सकिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

आईपीओमा आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरुले ३ लाख १५ हजार कित्ताका लागि आवेदन दिन सक्छन् । यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नम्बर २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता सेयर छुट्टाइएको छ ।

सर्वसाधारणमा १८ करोड ९० लाखको आईपीओ आउने

सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र स्थानीय बासिन्दाका लागि जारी सेयर बाँडफाँडपछि दोस्रो चरणमा १८ करोड ९० लाख मूल्यको १८ लाख ९० हजार कित्ता सेयर आम सर्वसाधारणमा निष्कासन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशत अथार्त १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर स्थानीयलाई निष्काशन गरेको हो । यस्तै सर्वसाधारणतर्फ जारी हुने २१ करोड मूल्यको २१ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने २ करोड १० लाख मूल्यको २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २० देखि पुस ५ गतेसम्म जारी गरी निष्कासन बन्द समेत गरी गरेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड

कुल ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको निर्माण अवधिको ब्याज सहित प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार ७२७ रुपैयाँ रहेको छ ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७३ चैत १७ गते विद्युत उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो ।

आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ छ । २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएपनि कोभिड र बाढी पहिरोका कारण सो मितिमा उत्पादन सफल हुन सकेन ।

आयोजनाबाट साधारण लगानी फिर्ता हुन ६.२८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन ११.१० वर्ष लाग्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  ०९ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।