पुराना कम्पनीलाई टक्कर दिँदै सूर्यज्योति लाइफ, २८ अर्बको बन्यो कम्पनी

0
Shares

बिहीबारदेखि एकीकृत कारोबार

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले आज बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सूर्याज्योति लाइफ इन्स्योरेन्सले सबैभन्दा पहिला एकीकृत कारोबार थालेको हो ।

निर्जीवन बीमातर्फ भने चार कम्पनीहरु एक आपसमा मर्जर भएर हिमालयन एभरेष्ट तथा सानिमा जिआईसीको नाममा संयुक्त कारोबार गरिसकेका छन् । मर्जरको हिसाबले सूर्यज्योतिको तेस्रो संयुक्त कारोबार हो ।

मर्जरपछि सूर्याज्योति लाईफ इन्स्यारेन्स कम्पनीले नेपालका पुराना जीवन बीमा कम्पनीलाई समेत टक्कर दिन सक्ने हैसियत बनाएको छ । मर्जरपछि कम्पनीको आकार साढे २८ अर्ब रुपैयाँ पुगेको छ । जसमा सबैभन्दा धेरै हिस्सा जीवन बीमा कोषको रहेको छ । कम्पनीको जीवन बीमा कोष मात्रै २२ अर्ब पुग्दा पुँजी साढे चार अर्ब नाघेको छ ।

मर्जरपछि बनेको सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकको आधारमा कम्पनी साढे २८ अर्बको बनेको छ । कम्पनीको जीवन बीमा कोषमा सञ्चित रकम २२ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने नाफा ४२ करोड माथि हुने भएको छ ।

एकीकृत कम्पनीमा कर्मचारी ६७५ पुगेका छन् भने १३ लाख भन्दा बढी पोलिसी होल्डर कायम भएका छन् । कम्पनीमा ७५ हजार अभिकर्ता हुनेछन् । १८१ वटा शाखा कार्यालय र १५ वटा प्रोडक्ट हुनेछन् । मर्जरपछि बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको प्रमुख कार्यालय ज्ञानेश्वरमा रहने छ ।

मर्जरपछि बनेको सूर्यज्योति लाइफ पुँजीको आधारमा नेपालको तेस्रो ठूलो जीवन बीमा कम्पनी बनेको छ । नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स पछि सूर्याज्योति ठूलो कम्पनी बनेको हो ।

यस्तै जगेडा कोषको हिसाबमा पौने २ अर्ब रुपैयाँ सहित नेपाल लाइफपछि दोस्रो ठूलो कम्पनी बनेको छ । जीवन बीमा कोषको आधारमा कम्पनी छैटौं स्थानमा छ । यो कम्पनीभन्दा एशियन लाइफ, राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, एलआईसी र नेपाल लाइफको जीवन बीमा कोष धेरै रहेको छ । कम्पनीको महावित्तपत्ति कोषमा २२ करोड २२ लाख रुपैयाँ माथि पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।