बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको निधन

0
Shares

बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९५ वर्षका बस्नेतको पुस १० गते आइतबार बिहान निधन भएको हो ।

भोजपुर दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेतले भारतको बनारस बनारस हिन्दु विश्वविद्यालयबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए । उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य समेत रहेका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत हुन् ।

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवा मार्फत उनले जोडेका थिए । बस्नेतको २ छोरा र १ छोरी रहेको छ ।
हाल बुद्ध एयरलाई उनका जेठा छोरा विरेन्द्रबहादुर बस्नेतले प्रबन्ध निर्देशकका रूपमा हाँकीरहेका छन् ।

बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्ष बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ । उसले भनेको छ, ‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई हामी बुद्ध एयरकर्मी सधैं अनुशरण गरी अगाडि बढ्ने छौं । हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन।’

नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बन्न सफल भएको छ । अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको साँघुरो घरमा अफिस राखेर सेवाको सुरुवात भएको थियो । स्थापनामा ९९ जना सबै कर्मचारी कच्याककुचुक परेर बसेर सुरु भएको बुद्ध एयरसँग एउटा जहाज मात्र थियो । अहिले बुद्ध एयरसँग १६ वटा जहाज र १ हजार ५०० कर्मचारी कार्यरत छन् । सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर दिई स्वदेशी र विदेशी गरी वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।