चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको राजस्व संकलन नहुने, चार महिनामा एक खर्ब संकलन

0
Shares

सरकारले चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्ने देखिएको छ । चालु आवको पहिलो चार महिनामा सरकारले लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ८१ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पहिलो चार महिनामा सरकारले बजेटको लक्ष्यको १०.४४ प्रतिशत मात्र राजश्व संकलन गरेको हो । 

आन्तरिक राजस्व विभागले चालु आवका सुरुका ४ महिनामा मासिक लक्ष्यको औसतमा ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । चालु आवका ४ महिनामा अधिक भनेको लक्ष्यको ८८ प्रतिशतसम्म राजस्व संकलन गरेको छ । विभागका अनुसार मासिक लक्ष्यको साउनमा ८८, भदौमा ८५, असोजमा ८७ र कात्तिक २७ गतेसम्म ८२ प्रतिशत राजस्व संकलन भएको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले लक्ष्य अनुसारको राजश्व संकलन नभएपनि करिब २३ प्रतिशतले राजश्व वृद्धि भईरहेको बताए । ’विगतका १० वर्षलाइ हेर्दा राजस्व वृद्धि दर औसतमा १९ देखि २३ प्रतिशत रहेको छ । यो बर्ष पनि २३ प्रतिशतले राजश्व संकलन बढ्ने देखिन्छ ।’ कुँवरले भने । विभागले राजश्व प्रशासनलाई चुस्त बनाउनु साथै अनुगमन,अनुसन्धान र राजश्व चुहावट नियन्त्रणको कामलाई प्राथमिकताका साथ अगाडि बढाएकाले आगामी दिनहरुमा लक्ष्य हासील हुने उनले विस्वास व्यक्त गरे ।

तर, चार महिनाको राजस्व संकलनको अवस्था हेर्दा भने राजश्वको लक्ष्य पुरा हुनेमा कठिनाई देखिन्छ । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक खर्ब २५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा कात्तिक २७ गतेसम्ममा एक खर्ब २ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको अन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागले साउन महिनामा ३९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३४ अर्ब ९० करोड रुपैयाँ मात्र संकलन गरेको छ ।
त्यसैगरी भदौ महिनामा २४ खर्ब ५६ करोड लक्ष्य लिएकोमा २० अर्ब ८८ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । विभागका अनुसार असोज महिनामा २८ अर्ब ६१ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा २४ अर्ब ८८ करोड रुपैयाँ मात्र संकलन गरेको छ । कात्तिक महिनामा ३२ अर्ब ३१ करोड रुपैयाँ बरावरको राजस्व संकलन लक्ष्य लिएकोमा २१ अर्ब ८६ करोड रुपैयाँ संकलन गरेको छ ।