५० अर्बको रिपोमा ७२ अर्बको आवेदन, ९% सम्म ब्याज तिर्न बैंकहरु तयार

0
Shares

नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५० अर्ब रुपैयाँ बराबरको रिपोका लागि साढे ७२ अर्ब रुपैयाँको बोलकबोल भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको अवस्था कायम नै रहेको हुनाले अधिक माग परेको हो ।

बैंकिङ प्रणालीमा विगत डेढ वर्ष देखि निरन्तर तरलता अभावको समस्या देखिएपछि केन्द्रीय बैंकले बिहीबार पहिलो पटक दिर्घकालिन रिपो जारी गरेको थियो । उक्त रिपोमा पनि बैंक वित्तीय संस्थामा अधिक माग गरेका हुन । त्यतीमात्र नभई बैंक वित्तीय संस्था स्थायी तरलता सुविधा दर भन्दा पनि माथि ९ प्रतिशतसम्मको ब्याजदर अफर गरेको केन्द्रीय बैंकले जनाएको छ ।

दिर्घकालिन अर्थात ४५ दिन अवधिको रिपोमा उच्चतम ब्याजदर ९ प्रतिशतसम्म अफर आएको भएपनि औसत भने घटेको छ । पछिल्लो समयमा बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेको भएपनि पुनरकर्जा परिपक्क हुने र पहिलो किस्ता कर तिर्नुपर्ने हुदाँ त्यसले पुन तरलता अभावको समस्या कायम नै हुने बैंकरहरुको बुझाइ छ । त्यसैले केन्द्रीय बैंकले पुसमसान्तमा तरलताको अभावका कारण बैंक वित्तीय संस्थालाई अफठ्यारो नहोस भन्दै दिर्घकालिन रिपोमार्फत बजार पैसा पठाउने निर्णयमा केन्द्रीय बैंक पुगेको हो ।

बिहीबार बोलकबोल भएको ५० अर्बको रिपोका लागि ७२ अर्ब ६५ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ । त्यसमा ३२ बैंक वित्तीय संस्थाले १४१ बोल मार्फत माग आवेदन दिएका थिए । सो रिपोका लागि बैंक वित्तीय संस्थाले अधिकतम ९ र न्यूनतम ७.५४०० प्रतिशत ब्याज अफर गरेका छन । रिपोको औसत ब्याजदर ८.०९९८ प्रतिशत कायम भएको छ ।

यसभन्दा अघि पुस ७ गते जारी भएको १४ दिने अल्पकालिन रिपोको ब्याजदर ८.३३९० प्रतिशत कायम भएको थियो । यो औसत ब्याजदर बैंकदर अर्थात एसएलएफ रेटको हाराहारी नै हो ।

बैंक वित्तीय संस्थाले सरकारी सुक्षणपत्रको मूल्यको अधिकतम ९० प्रतिशत रकम मात्र रिपो सुविधा पाउँछन । बिहीबार बोलकबोल भएको रिपो २०७९ माघ २९ गते परिपक्व हुनेछ । यसले वित्तीय प्रणालीमा देखिएको तरलता समस्या आगामी माघ महिनामा पनि सहज नभएको खण्डमा पुनः दिर्घकालिन औजारलाई प्रयोग गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

मंसिर महिनाको सुरुवात देखि बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेको थियो । तर, निक्षेप बढ्ने क्रम पुस महिनाको मध्य तिर आएपछि कम भएको छ । त्यतीमात्र नभई बैंक वित्तीय संस्थाले स्थायी तरलता सुविधा प्रयोग गर्न नपरेको अवस्था थियो । पछिल्ला दिनहरुमा भने निक्षेप घट्ने तथा स्थायी तरलता सुविधा प्रयोग समेत बढ्न थालेको छ ।

प्रणालीमा निक्षेप थपिदा अन्तर बैंक कारोबार बाटै तरलता व्यवस्थापन भएको थियो । केही दिन अघि सम्म अन्तर बैंक दर नै ६ प्रीतशतको हाराहारीमा झरेको थियो । तर, पछिल्लो समयमा बैंकहरु बीच हुने अन्तर बैंक कारोबारमा माग बढेपछि दर पनि ८.४५ प्रीतशत पुगेको छ । त्यसका साथै कर्जा निक्षेप अनुपात पनि बढेको छ । बुधबार बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८६.२६ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।