
सरकारले वार्षिक रुपमा कृषि क्षेत्रको लगानी बढाइरहेको भएपनि उत्पादन बढ्ने तथा आयात घट्ने अवस्था अझै बनेको छैन । आयात घटेको देखिएको समयमा पनि अवैध आयात मुख्य कारणको रुपमा देखिँदै आएको छ ।
सरकारले बैंक वित्तीय संस्थालाई कुल कर्जाको १५ प्रतिशत लगानी अनिवार्य रुपमा कृषिमा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसका साथै विभिन्न किसिमका सुहलियतपुर्ण कर्जाहरु पनि सो क्षेत्रमा प्रदान गर्दै आएको भएपनि त्यसको सदुपयोगिता देखिएको छैन । सरकारले सहुलियतपूर्ण कर्जा सुरु गरेदेखि गत कात्तिकसम्ममा मात्रै १९ अर्ब रुपैयाँ ब्याज अनुदान दिइसकेको अवस्था छ ।
सरकारले कृषिमा दिएको सहुलिय अनुदान र प्राथमिकताको नतिजा पनि धान चामलको उत्पादनमा देखिन नसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । भारतसँगको खुला सीमानाका कारण चामलको आयात भन्दा पनि चोरी पैठारी उच्च रहेको राष्ट्र बैंकका प्रवक्ता भट्टको भनाई छ । “सरकारले कृषि क्षेत्रको सुधारका लागि सञ्चालन गरेका कार्यक्रम कता गए भन्ने प्रश्न देखिएको छ,” भट्टले भने, “सरकारले कृषि क्षेत्रमा दोहोरो घाटा व्यहोर्नु परेको स्पष्ट छ, पहिलो कार्यक्रमको प्रभावकारिता देखिएको छैन भने कृषि उत्पादनकै तस्करीका कारण राज्यलाई राजस्व समेत घाटा भएको छ ।”
कोरोनाको समयमा धान चामलको आयात बढेको थियो । यस अवधिमा धान उत्पादन घटेर भन्दा पनि अबैध पैठारीमा आएको नियन्त्रणले आयात बढेको उनले बताए । कोरोना महामारीको असर कम भएसँगै चामल र धानको आयात घट्न थालेको छ । जसका कारण खुला सीमाबाट तस्करी बढेको हुनाले आयात घटेको पछिल्ला पाँच वर्षको तथ्याङ्कले नै स्पष्ट पार्छ ।
हाम्रो धान चामलको आयात निर्यात स्थिति सुधारोन्मुख छैन । हामी झन्झन् धान चामल आयातमा निर्भर हुँदै गैरहेका छौ । त्यो भन्दा मुख्य कुरा जुन बेला नेपालमा धान भित्रने मुख्य समय हुन्छ तेसै बेला भारतबाट सबैभन्दा धेरै परिमाणमा धान आयात भैरहेको अवस्था छ ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिरसम्ममा तथ्याङ्कलाई तुलना गर्दा पनि धान चामलको तस्करी र औपचारीक माध्यमाबाट आउने परिमाण करिब उस्तै देखिन्छ । तर, चालु आर्थिक वर्षमा भने भारतले चामल निर्यातमा बढाएको भन्सार शुल्कका कारण पनि आयातमा कमी आएको हुन सक्छ । तर, भारतले गत महिनादेखि उक्त भन्सार शुल्क हटाएको अवस्था छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७ अर्ब २९ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । सोही अवधिमा ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको धान आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चामल आयात ४५ प्रतिशतले थोरै हो । त्यसैगरी धान आयात पनि २५.१३ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्ष (२०७८/७९) को पहिलो पाँच महिनामा १३ अर्ब ३३ करोड रुपैयाँ बरावरको चामल आयात भएको थियो भने ७ अर्ब १६ रुपैयाँ बराबरको धान आयात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ पहिलो पाँच महिनामा १३ अर्ब ३३ करोडको चामल र ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कोरोना महामारीको असर बढी भएको हुनाले तस्करीमा कमी आएको थियो । सोही कारण आयात उल्लेख्य बढेको दखिन्छ । तर, सोभन्दा अघिका वर्षहरुमा अवैध आयातका कारण चामलको आयात ८ अर्बको हाराहारीमा रहेको देखिन्छ भने धान २ देखि ४ अर्ब रुपैयाँ बराबरको मात्र देखिन्छ । तर, आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा भने अन्य वर्षभन्दा केही फरक ११ अर्बभन्दा धेरैको चामल आयात भएको देखिन्छ ।
|
आर्थिक वर्ष (पहिलो पाँच महिनाको तथ्याङ्कमा आधारित) |
चामल आयात (रूपैयाँमा) |
धान आयात (रूपैयाँमा) |
|
२०७९/८० |
७ अर्ब २९ करोड |
५ अर्ब ३६ करोड |
|
२०७८/७९ |
१३ अर्ब ३३ करोड |
७ अर्ब १६ करोड |
|
२०७७/७८ |
१३ अर्ब ३३ करोड |
४ अर्ब ८५ करोड |
|
२०७६/७७ |
८ अर्ब ३३ करोड |
२ अर्ब ८५ करोड |
|
२०७५/७६ |
११ अर्ब ३७ करोड |
२ अर्ब २० करोड |
जुन समय हाम्रोमा जताततै धानैधान हुन्छ त्यहि समयमा फेरी किन धानचामल भित्रिरहेको छ त ? हामी खाद्यान्नमा आत्मनिर्भर हुने नाममा विभिन्न योजनाहरु बनाईरहेका र सार्वजनिक गरिरहेका छौं तर माथीका तथ्याङ्कले हाम्रा योजनाहरुले सोचे अनुसार काम गरिरहेको देखिँदैन । कता हराइरहेका छन् हाम्रा योजनाहरु ? कहाँ चुकिरहेका छौ हामीहरु ? आगामी योजनाहरुमा यस्ता ध्यान नपुगिरहेका कुराहरु केलाउने हो कि ?
हामीसँग सम्झनाको लागि धान उत्पादन र व्यापारको गर्विलो विगत रहेको थियो । सन् ६० को दशकमा वर्तमानको सबैभन्दा ठूलो धानचामलको निर्यातक भारतले चामल आयात गरेर आफ्नो देशवासीको आवश्यकता पूरा गर्दै गर्दा नेपाल चामल निर्यात गर्ने मुख्य देशहरु मध्येमा थियो । सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धानचामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । जसको त्यो बेलाको मुल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् ८५ को मध्यसम्म घट्दो क्रममा चलेको थियो ।
सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । नब्बेको दशकको सुरुवातसँगै नेपालको धानचामल व्यापारको नक्सामा परिवर्तन आयो र नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो । जबकि त्यसको केहि अगाडि देखि भारत र भियतनामले आफ्नो अवस्थामा लगातार सुधार गर्दै गएर वर्तमानका ठूला चामल निर्यातक देश बनेका छन् ।
हाल उपलब्ध प्रविधिहरुको प्रयोग, मलखादको उचित सदुपयोग तथा उपलब्ध जातहरुको प्रयोगबाट नेपालको धानको उत्पादकत्व सहजै हालको ३ मेट्रिक टनबाट ४ देखि ५ मेट्रिक टनमा पुर्याउन सकिन्छ । त्यसको लागि समयमा मल बीउको उपलब्धता, प्रविधि प्रसारमा दक्ष र समर्पित कृषि कार्यकर्ताहरु र यो कार्यलाई अभियानको रुपमा लैजान कृषि कर्मसंग जोडिएका समाजका सबै चेतनसिल नागरिकहरु लाग्नुपर्ने हुनसक्छ ।उत्पादनपछि हामीले गर्न नसकिरहेका कुराहरु भनेको उत्पादन र बजारसँगको असल समन्वय, भण्डारण र प्रशोधनका सुविधाहरुको विकास, धान उत्पादन खर्चसंग जोडिएका मजदुर र मेसिनका कुराहरु, धानखेतीको आवश्यकता अनुसारको सिंचाई व्यवस्थापन आदि हुन् ।
पछिल्लो समयमा उद्योगी व्यापारीले नै धान चामलको समेत तस्करी भएको भन्दै रोक्न सरकारलाई अनुरोध गरिरहेका छन् । व्यापारीले अन्य वस्तुहरुसँगै धान चामल समेत तस्करी भएकाले आयात घटेको बताउने गरेका छन् । यसले गर्दा पनि आन्तरिक उत्पादनलाई असर गरिसकेको समेत उनीहरुको गुनासो छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया