साताभरमा १३ हजार ७०० रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो ३ लाख नजिक


काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य उल्लेख्य बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य प्रतितोला १३ हजार ७०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार आइतबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ ।

आइतबार सुनको मूल्य १ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट अर्थात् सोमबार ८०० रुपैयाँले बढेर सुन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार भने सुनको मूल्यमा गिरावट आएको थियो । मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार एकैदिन सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार सुनको मूल्यमा उच्च वृद्धि आएको थियो । बिहीबार एकैदिन सुन तोलामा ८ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा २६५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । बुधबार ९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।