सरकारले नयाँ र पुरानो गरेर सवा २० अर्बको ट्रेजरी जारी गर्दै, बिक्री होला त ?

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर २० अर्ब २५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ । सरकारले ७ अर्ब ५० करोड रुपैयाँ बरावरको नयाँ र १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो ।

सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेपछि सरकारले आयातमा गरेको नियन्त्रणले राजस्व संकलनमा कमी आएको छ ।

चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाउन लागेको हो । हाल बैंकिङ क्षेत्रको ब्याजदर उच्च भएको छ भने कर्जा लगानी योग्य रकम अभावको समस्या छ । बैंकहरुले कर्जा लगानी नगरी नियामकीय मापदण्ड पुरा गर्नका लागि समेत स्थायी तरलता सुविधा र रिपो खरिद गरेको अवस्था छ ।

बैंकहरुले स्थायीत तरलता सुविधा र रिपोको लागि नै उच्च ब्याज तिर्नु पर्ने अवस्था भएकाले सरकारी ऋणपत्रमा पनि उच्च ब्याजदर माग गर्दै आएका छन । बैंकहरुले उच्च ब्याजदर माग गरेपछि कतिपय अवस्था राष्ट्र बैंक आफैले ट्रेजरी खरिद गर्ने गरेको छ ।

नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली र कार्याविधि परिवर्तन गरेर स्थायी तरलता सुविधामा गरेको कठाईले बैंकहरुलाई लगानी गर्न भने निरुत्साहित गरेको छ । केन्द्रीय बैंकले पछिल्लो एक साताको स्वदेशी मुद्राको निक्षेपको एक प्रतिशत मात्र स्थायी तरलता सुविधा लिन सक्ने व्यवस्था गरेको छ । त्यसका लागि सुरक्षणका रुपमा राख्नु पर्ने सरकारी ऋणपत्रको पनि ९० प्रतिशत मात्र स्थायी तरलता सुविधा उपलब्ध हुन्छ ।

कार्यविधिको उक्त व्यवस्थाले बैंक वित्तीय संस्थालाई सरकारी ऋणपत्रमा लगानी गर्न निरुत्साहित गरेको हो । सरकारी ऋणपत्रमा लगानी गरेपछि आफुलाई चाहेको समयमा नगदमा परिवर्तन वा प्रयोग गर्न नपाउने भएपछि बैंकहरु इच्छुक नभएका हुन ।

बैंकहरुले स्थायी तरलता सुविधा प्रयोग गर्न नपाउने भएपछि सरकारी ऋणपत्रमा लगानी बढाउन नखोज्दा यस अघिका केही ट्रेजरी बिक्री नभएपछि केन्द्रीय बैंकले नै खरिद गरेको अवस्था छ ।

सरकारले सोमबार ५ अर्बको २८ दिने, ७ अर्ब ७५ करोड रुपैयाँ बरावरको ९१ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गर्न लागेको । त्यसैगरीे ७ अर्ब ५० करोड रुपैयाँ बरावरको ३६४ दिने नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो । यसभन्दा अघि पुस ११ गते सरकारले १८ अर्ब ५० करोड रुपैयाँ बरवारको टे«जरी जारी गरेको थियो । सो ट्रेजरी मध्ये ९१ दिनेको औसत डिस्काउन्ट रेट ११.४१९८ प्रतिशत कायम भएको थियो । त्यसैगरी ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.९५२५ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  १७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।