नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले पुस ७ गते सैद्धान्तिक स्वीकृति दिएको हो ।
गत असोज २६ गते एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका कम्पनीलाई नियामक निकाय केन्द्रीय बैंकले सैद्धान्तिक सहमति दिएको हो ।दुई संस्थाबीच भएको मर्जर सम्झौतामा १००ः८२ स्वाप रेसियो अनुपातमा गाभिने प्रारम्भिक सहमति छ । यसअनुसार समीट लघुवित्तको १० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ८.२० कित्ता कायम हुनेछ ।
सैद्धान्तिक स्वीकृति पाएसँगै दुबै कम्पनीले साधारण सभा बोलाएर मर्जर प्रस्ताव पारित गराउने तथा डिडिए मार्फत स्वाप रेसियो तय गर्नुपर्ने हुन्छ ।
मर्जर पश्चात बन्ने संस्थाको नेशनल समीट माइक्रोफाइनान्स सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष केशवप्रसाद आचार्य रहनेछन् । यस्तै प्रमुुख कार्यकारी अधिकृतमा पनि सोही संस्थाको राम बहादुर यादव रहने सहमति छ ।
मर्जर पश्चात हुने संस्थाको एकीकृत चुक्ता पूँजी १ अर्ब रूपैयाँभन्दा बढी कायम हुने छ भने ग्राहक सदस्य संस्या २ लाख बढी पुग्नेछ । लगानीमा रहेको कर्जा १७ अर्ब रूपैयाँभन्दा बढी र सातै प्रदेशको ७४ जिल्लाहरुमा संस्थाको कुल शाखा संख्या २०४ पुग्ने बताइएको छ ।
समीट लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा रहेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकञ्ठ नगरपालिका वडा नं. ३ मा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया