केएल दुगड ग्रुपले दुई कम्पनीबाट मात्रै एकै वर्षमा गर्यो ५ अर्ब बढी आम्दानी

0
Shares

सन् २०२२ मा केएल दुगड ग्रुपले आफ्ना दुई कम्पनीबाट ५ अर्ब ३५ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

ग्रुपले ज्ञान इन्टरप्राइजेजबाट सन् २०२२ मा ३ अर्ब १७ करोड ३० लाख आम्दानी गरेको छ भने शौरभ फूड प्रोडक्टस्बाट २ अर्ब १८ करोड ३० लाख बराबरको कारोबार गरेको छ ।

ज्ञान इन्टरप्राइजेज एटलान्टिक ब्रान्डका वेल्डिङ इलेक्टरोडको आधिकारिक बिक्रेता रहेको छ । यो कम्पनी मुख्यतया आयात तथा ट्रेडिङ कार्यमा संलग्न रहेको छ । कम्पनीले मेजान ब्रान्डको खानेतेलको पनि बिक्री वितरण गर्दछ । साथै बेकरी सर्टेनिङका रुपमा प्रयोग हुने मेदादियाको पनि कम्पनीले आयात र बिक्री वितरण गर्दै आएको छ ।

ज्ञान इन्टरप्राइजेजले सन् २०२१ मा २ अर्ब ४३ करोड ७० लाख बराबरको परिष्कृत आम्दानी गरेको थियो । उक्त आम्दानी सन् २०२२ मा ३० प्रतिशतले बढेर ३ अर्ब १७ करोड ३० लाख (अपरिष्कृत) कायम रहेको छ ।

सन् १९९१ बाट सञ्चालनमा आएको ज्ञान इन्टरप्राइजेज नरेश दुगड र कुमुद दुगडको सहकार्यमा स्थापना भएको केएल दुगड ग्रुपकै एक हिस्सा रहेको छ । केएल दुगड ग्रुप नै कम्पनीको प्रमोटर रहेका कारण कम्पनीलाई वित्तीय तथा प्राविधिक सहयोग मिलेको छ ।

ज्ञान इन्टरप्राइजेजले २ अर्ब ९२ करोड ७० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

ग्रुपकै लगानीमा चामल, खाने तेल लगायतका अन्य खाद्य सामाग्री उत्पादन गर्ने उद्देश्यले सन् १९९९मा स्थापना भएको शौरभ फूड प्रोडक्टस्ले सन् २०२२मा २ अर्ब १८ करोड ३० लाख बराबरको कारोबार गरेको छ ।

कम्पनीको उद्योग बारा जिल्लाको छातापिपरामा अवस्थित छ । वार्षिक रुपमा उद्योगको चामल प्रशोधन क्षमता ४२ हजार मेट्रिक टन रहेको छ भने तेल उत्पादन क्षमता १४ हजार मेट्रिक टन छ।

कम्पनीका प्रमोटर नरेश दुगड र कुमुद दुगड रहेका छन् । उत्पादन तथा टेडिङको क्षेत्रमा अनुभवी प्रमोटर रहेका कारण शौरभ फूड कम्पनीलाई वित्तीय तथा प्राविधिक रुपमा राम्रो सहयोग मिलेको छ भने कम्पनीको वित्तीय अवस्था पनि स्वस्थ रहेको छ ।

सन् २०२१ मा १ अर्ब ७६करोड ६० लाख परिष्कृत आम्दानी गरेको कम्पनीले सन् २०२२मा सो आम्दानी २३.६१ प्रतिशतले बढेर २ अर्ब १८ करोड ३० लाख पुगेको छ ।

कम्पनीले ज्ञान ब्रान्ड नामबाट चामलको बिक्री वितरण गर्दै आएको छ भने विगुल र ज्ञान ब्रान्ड नामबाट तोरीको तेलको बिक्री वितरण गरेको छ ।

सन् २०२२मा कम्पनीले २ अर्ब २१ करोड ४४ लाख ५० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपालले दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।