सन् २०२२ मा टेस्लाको १३ लाख कार बिक्री

0
Shares

सन् २०२२ मा विद्युतीय कार निर्माता कम्पनी टेस्लाले १३ लाख कारहरुको बिक्री गरेको छ ।

कम्पनीले पछिल्लो तीन महिनामा मात्रै ४ लाख ५ हजार कारहरुको बिक्री गरेको थियो । जसकारण कम्पनीको सेल्समा वृद्धि भएको हो ।

चीनमा कोभिड–१९ संक्रमण फैलिएका कारण फ्याक्ट्री बन्द हुँदा कम्पनीले अपेक्षित रुपमा कारको उत्पादन गर्न सकेको छैन । लगानीकर्ताहरुसँगको संवादमा टेस्लाले चीनमा कोभिडले माग–आपूर्ति श्रृङ्खला अवरुद्ध भएका कारण बिक्रीदरमा कमी आएको जनाएको छ ।

विश्वव्यापी अर्थतन्त्र मन्दी उन्मुख भएको समयमा सम्भावित ग्राहकहरुले खर्चमा गरेको कटौतीका कारण पनि कम्पनीको बिक्री अपेक्षित रुपले अघि बढ्न सकेको छैन।

टेस्लाले सन् २०२२ मा १८ लाख कारहरुको बिक्री गर्ने वाल स्ट्रीटले अनुमान गरेको थियो । फोर्ड तथा जेनेरल मोटर्सले विद्युतीय कारहरुको उत्पादनमा वृद्धि गरेका कारण कम्पनीको बिक्रीमा कमी आएको छ ।

पछिल्लो समयमा बीवाइडी, रिभिएन, लुसिड लगायतका कम्पनीहरुले विद्युतीय कारहरु उत्पादन गरेका छन् भने सो कारहरु अमेरिका र चीनमा लोकप्रिय हुँदै गएका छन् । ग्राहकहरुको रोजाइ परिवर्तन भएका कारण पनि टेस्लाको बिक्री अपेक्षा अनुरुप हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।