बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा जलविद्युत कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाएका छन् ।पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिपीडब्लु लघुवित्तलाई पुस ४ गते र सगरमाथा जलविद्युत कम्पनीलाई पुस १७ गते साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।
बोर्डले बिपीडब्लु लघुवित्तलाई बोर्डले जारी पुँजीको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर निष्काशन अनुमति दिएको हो । लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ । आईपीओपछि लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
यस्तै बोर्डले सगरमाथा जलविद्युत कम्पनीलाई प्रतिसेयर अंकित मूल्य एक सय रुपेयाँ अंकित दरमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर निष्काशन अनुमति दिएको छ । कम्पनीले जारी पुँजीको ४९ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
सगरमाथा जलविद्युत कम्पनीको जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँ तथा चुक्ता पुँजी ५७ करोड १२ लाख रुपेयाँ रहेको छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।
सेबोनको अनुमतिसँगै लघुवित्तले वैदेशिक रोजगारीमा रहेका र त्यसपछि आम सर्वसाधारणलाई तथा सगरमाथा जलविद्युत कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र आम सर्वसाधारणलाई २ महिनाभित्र सेयर जारी गर्नेछ ।
बिपीडब्लु लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । यस्तै सगरमाथा जलविद्युत कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यसअघि बोर्डले दुई हाइड्रोपावर कम्पनीहरु मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावरलाई पुस ७ गते अनुमति दिएको थियो । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन अनुमति पाएको हो ।
यस्तै सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस्तै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया