पोखरा तथा आसपासका क्षेत्रमा कुनै पनि समय इन्टरनेट अवरुद्ध हुन सक्ने

0
Shares

पोखरा तथा पोखरा आसपासका क्षेत्रमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुने सक्ने इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले पोखरा स्थित इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेशन सेन्टर छानेरै विद्युत विच्छेद गरेको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताएका छन् । सेवा प्रदायकहरुले नियमित विद्युत शुल्क भुक्तानी गरेको अवस्थामा पनि छानि छानि विद्युत लाइन काटिए पछि कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुने जानकारी दिएका छन् ।

आइस्पानले गत १८ गते पत्रकार सम्मेलन गरी विद्युत प्राधिकरणले पोलभाडा विवादका कारण आफखुशी अपरेशन सेन्टर, डाटा सेन्टर जस्ता मुख्य स्थानको विद्युत काट्न थालेको गुनासो गरेका थिए ।

सरकारले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदन लुकाएर प्राधिकरणले पोलभाडा दर पुरानै कायम गरेको भन्दै आइस्पानले यसको विरोध गरेको थियो । प्राधिकरणको मनोमानीपूर्ण कार्यमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको थियो ।

विद्युत प्राधिकरणले पछिल्लो पटक सात गुणासम्म पोल भाडा वृद्धि गरेपछि आईस्पान र प्राधिकरण बिच पोल भाडा विवाद कायम नै रहेको छ । प्राधिकरणले नयाँ समितिले बुझाएको प्रतिवेदन बोर्डले पारित नगरेको अवस्थामा पुरानै दर कायम गरिएको दाबी गरेको छ भने आइस्पानले प्राधिकरणले दादागिरी देखाएर प्रतिवेदन लुकाई पुरानै भाडादर भुक्तानी गर्न दबाब दिएको गुनासो गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७९, बिहिबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।