नेपाल भ्रमण बर्ष २०२० को प्रचार–प्रसारका निम्ती ‘ट्राभल सो’ निर्माण

0
Shares

सरकारले मनाउँदै गरेको भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा पल्सर द नेक्स्ट डेस्टिनेशन नामक पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ।

नेपाल भ्रमण बर्ष २०२० को सचिवालयमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो । कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजन मार्फत प्रसारण हुने छ । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको जनाए ।

द होराईजन मल्टि मिडिया प्रा.लि.,तथा नेपाल भ्रमण बर्ष २०२० को सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टि मिडिया प्रा लि का अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए ।

नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ ।पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य छ।

कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाएको छ । प्राकृतिक सुन्दरता सँगै सामाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक राधाकृष्ण धितालले बताए ।

कार्यक्रम नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत सबटाइटल गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ।