चीनले नाका खुल्ला गरेपछि लगानीकर्ताहरु उत्साहित हुँदा एशियाली सेयर बजारमा हरियाली

0
Shares

चीनले कोरोना महामारी फैलिएपछि बन्द गरेका नाकाहरु खुल्ला गरेको छ । जसकारण लगानीकर्ताहरु उत्साहित हुँदा एशियाली सेयर बजारमा हरियाली छाएको छ।

आज जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रका देशहरुको बृहत सेयर सूचांक एमएससीआई २ प्रतिशतले उकालो लागेको छ । जुन पाँच महिना यताकै उच्च हो । यस्तै दक्षिण कोरियाको सेयर सूचांक २.२ प्रतिशतले बढेको छ ।

लामो समयसम्म बन्द रहेका नाकाहरुबाट आयात निर्यातका काम सुरु भएपछि चिनियाँ अर्थतन्त्र चलायमान भएको छ । लगानीकर्ताहरुको मनोबल बढेको छ । आज चीनको ब्लुचीप सेयर सूचांक ०.७ प्रतिशतले बढेको छ । हङकङको सेयर सूचांक हयाङस्याङ १.४ प्रतिशतले उकालो लागेको छ ।

आर्थिक गतिविधिमा वृद्धि भएसँगै चीनको मुद्रा युआन अन्तर्राष्ट्रिय विनिमय बजारमा अगस्ट यता कै बलियो हुन पुगेको छ । आज डलर बराबर ६.८० युआनमा कारोबार भइरहेको छ ।

यस्तै अमेरिकी श्रम बजार बलियो रहँदा केन्द्रीय बैंक–फेडरल रिजर्भले यस अघिको जस्तो आक्रामक शैलीमा ब्याजदर नबढाउने निश्चित छ । जसकारण लगानीकर्ताको मनोबल उच्च हुँदा एस एन्ड पी-५०० सूचांक ०.२ प्रतिशत, नास्डाक् फ्युचर्स ०.३ प्रतिशत, युरोस्टक्स ५० सूचांक ०.६ प्रतिशत र एफटीएसई ०.३ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।