सनराइज बैंकको मर्जर समितिमा दुगड ग्रुपका कर्मचारी, समितिको बैधानिकतामा प्रश्न

0
Shares

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आफू अनुकुल हुनेगरी गठन गरेको मर्जर समितिको बैधानिकताको प्रश्न उठेको छ ।

अध्यक्ष दुगडले आफ्नै व्यापारिक समुह अन्तर्गतको विवेक अटो मोवाइल्स कम्पनीका कर्मचारी समेत रहेका दिपक नेपाललाई समितिको सदस्यमा राखेपछि बैधानिकताको सवाल उठेको हो ।

बैंकका अध्यक्ष दुगडले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक बनाएर ल्याएका दिपक नेपाल दुगड समुह अन्तर्गतका विवेक अटोमोवाइल्सका कर्मचारी हुन । त्यतिमात्र नभई नेपाल बैंकको लेखापरीक्षण समितिका संयोजक समेत हुन् ।

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, डीडीए पश्चात स्वाप तय गरिने

अध्यक्ष दुगडले पुस २१ गतको सञ्चालक समितिको निर्णयबाट लक्ष्मी बैंकसँग मर्जरमा जानका लागि मर्जर समितिको गठन गरेका छन् । उक्त बैंठकको तेस्रो निर्णयमा मर्जर समितिको गठन गरिएको छ भने ११ औं निर्णयमा सञ्चालक समेत रहेका नेपालले लेखापरिक्षण समितिको संयोजबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । त्यससंगै नेपालले दुगड ग्रुप अन्तर्गको विवेक अटोमोवाइल्सबाट पनि राजीनामा दिएको स्रोतले नोटबजारलाई जानकारी दियो ।

सो समितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव समेत सदस्य रहेका छन् । त्यसका साथै सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक रहेकी शारदा शर्मालाई संयोजक बनाएका छन् । यसरी अध्यक्ष दुगडले आफ्नो अनुकुलको समिति बनाउनका लागि दिपक नेपाललाई प्रयोग गर्दै आएका छन् । दुइ वटा राजीनामा गराएर भएपनि मर्जर समितिमा राखेका हुन् ।

त्यससँगै यसभन्दा अघिको मर्जर समितिलाई भङ्ग गरेको करिब एक वर्ष पछि अध्यक्ष दुगडले पुनः आफू अनुकुलको मर्जर समिति गठन गरेका हुन् । उक्त समिति गठन भएको ४ दिनमा नै लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको चरणमा पुगेको छ । त्यसका साथै अध्यक्षले आफ्नो कार्यकाल समेत लम्बाउन सफल भएका छन् । पुस २९ गते बैंकको सञ्चालक समितिको कार्याकाल पूरा हुँदैन । बैंकको नयाँ सञ्चालक समितिका लागि साधारण सभा गर्दा आफू आउने सम्भावना नभएपछि अध्यक्ष दुगडले मर्जर तर्फको काममा हतार गरेका हुन् ।

कार्यकाल लम्बाउन मर्जरको ‘अस्त्र ‘ प्रयोग गर्दै सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड

अध्यक्षले सहमति भन्दा पनि आफू खुसी मर्जरको प्रक्रिया अघि बढाएपछि यस विषयमा विरोधका आवाज पनि उत्तिकै आउन थालेका छन् । त्यसका साथै अध्यक्षले गठन गरेको मर्जर समितिको बैधानिकताको सन्दर्भमा समेत प्रश्न गर्दै नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सनराइज बैंक सञ्चालक समिति अध्यक्ष दुगड, लक्ष्मी बैंकमा उजुरी समेत परेको छ । त्यस विषयमा सम्बन्धित निकायले लिने कदमले मर्जर प्रक्रिया निर्धारित हुने देखिन्छ ।

सनराइज बैंकमा हाल अध्यक्षमा मोतिलाल दुगड छन् भने सदस्यहरुमा बच्छराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाई, शारदा शर्मा र दिपक नेपाल छन् । लक्ष्मी बैंकसँगको मर्जरको लागि अध्यक्ष दुगड सहित दिपक नेपाल र शारदा शर्मा मात्र अध्यक्षले अघि बढाएको अस्वभाविक मर्जर प्रक्रियामा सहमत छन् भने बाँकी सबै प्रक्रिया पूरा गरेर मात्र मर्जरमा जानुपर्ने तर्क सहित लिखित रुपमै फरक मत राखेको अवस्था छ । त्यसका साथै मर्जर समिति र सञ्चालक समितिको म्याद थपको विषयमा समेत ती सञ्चालकले लिखित असहमति जनाएको अवस्था छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।