ओमलाई गाभेपछि एनएमबि बैंक झनै बलियो, ३ महिनामै कमायो साढे ८१ करोड

0
Shares

ओम डेभलपमेन्ट बैंकलाई गाभेपछिको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको एनएमबि बैंकले अधिकास सूचकमा सुधारसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ८१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । गतबर्षको यसै अवधिमा बैंकको नाफा ५५ करोड थियो ।

बैंकको तीन महिनाको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा आकर्षक सुधार आएको छ भने संचालन खर्च समेत घटेपछि खुद नाफा माथि जान टेवा पुगेको हो ।

समिक्षा अवधिमा बैंकले एक खर्ब २१ अर्ब ९१ करोड निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ३१ करोड कर्जा परिचालन गरेको छ । ओमलाई गाभेपछि बैंकको निक्षेप र कर्जाको आकार खर्ब नाघेको छ । बैंकको निक्षेप २४.५४ प्रतिशत तथा कर्जा २४.६७ प्रतिशतले बढेको हो । जसबाट बैंकले एक अर्ब २२ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन २५ प्रतिशत बढी हो ।

बैंकको चुक्ता पूँजी पनि करिब २० प्रतिशतले बढेर ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ रहेको छ । भने विभिन्न कोषमा गरेर जगेडा कोषमा ९ अर्ब भन्दा बढी रकम जम्मा गरेको छ । बैंकको  प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ८२ रुपैयाँ ४० पैसा छ ।

मर्जरपछि बैंकको खराब कर्जा भने सामान्य बढेको छ । बैंकको खराब कर्जा शुन्य दशमलव १.९७ प्रतिशत पुगेको छ ।

बैंककोे मूल्य आम्दानी अनुपात १३.५१ गुणा, , आधार ब्याजदर १०.३३ प्रतिशत, कोषको लागत ७.११ प्रतिशत, पूँजी पर्याप्तता अनुपात १५.८१ प्रतिशत र सीसीडि ७७.२७ प्रतिशत रहेको छ ।