इन्भेष्टमेन्ट बैंकको अधिकांस सूचकमा गिरावट, ईपिएस १३.३८ रुपैयाँले घट्यो

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो।

गत आर्थिक बर्षको यसै अवधिमा एक अर्ब ५ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्नुका साथै खराब कर्जा समेत बढेपछि नाफा प्रभावित भएको हो । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ रहेको छ।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले १ अर्ब ५२ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ करोड ६५ लाख कम हो।

चुक्ता पूँजी स्थिर रहेको बैंकको खुद नाफा घटेपछि प्रतिशेयर आम्दानी समेत घटेको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३८ पैसा घटेर २६ रुपैयाँ २५ पैसामा झरेको छ।

यस्तै निष्क्रिय कर्जा १.२१ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ। बैंकलको जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख रुपैयाँ छ । रिटेन्ड अर्निङ्गमा २ अर्ब ९० करोड ९० लाख र शेयर प्रिमियममा १० करोड ५६ लाख रुपैयाँ सञ्चित गरेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा, मूल्य आम्दानी अनुपात १६.८८ गुणा छ। बैंकको आधार ब्याजदर ८.४८ प्रतिशत, कस्ट अफ फण्ड ६.३४ प्रतिशत छ । लागत बढेको छ भने आधारदर घटेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट बैंकले १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।