नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे नयाँ सञ्चालक समितिमा काे-काे चयन भए ?

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले बुधबारदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार थालेका छन् ।

मर्जरपछि बैंकमा नयाँ सञ्चालक समिति समेत गठन भएको छ । बैंकको अध्यक्षमा साविककाे नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे नै चयन भएका छन् । पाँडे सहित नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी र कवि कुमार टिब्रेवाला चयन भएका छन् । नयाँ बैंकमा मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे सञ्चालक चयन भएका छन् ।

त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छिन् ।बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे चयन भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एकीकृत कारोबारको शुभारम्भ भएको हो । एकीकृत बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९४ हजार रुपैयाँ नाघेको छ । इन्भेष्टमेन्ट बैंक र मेगा १०० बराबर ९० को अनुपातमा मर्जरमा गएका हुन् । मेगा बैंकका सेयरधनीले मर्जरपछि बन्ने बैंकमा मेगाको १०० कित्ता बराबर इन्भेष्टमेण्ट मेगाको ९० कित्ता सेयर पाउनेछन् ।

मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ को केन्द्रीय कार्यालय साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको दरबारमार्गस्थिति कार्यालय रहने छ । मर्जरपछि बन्ने बैंकको कुल पुँजी ५८ अर्ब रुपैयाँ माथि, ग्राहक संख्या ३० लाख पुगेको छ । निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यस्तै शाखा सञ्जाल २५७ वटा पुगेका छन्। । एक्सटेन्सन काउन्टर ५९ वटा तथा एटीएम संख्या २७९ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।