सबैभन्दा महङ्गो शेयर मूल्य भएको कम्पनीको यस्तो आयो प्रगति विवरण

0
Shares

शेयर बजारमा सबैभन्दा उच्च मूल्य रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण निकालेको छ ।

कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २६ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा ३३ करोड ४५ लाख खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको सोही अवधिमा २४ करोड ६३ लाख रुपैयाँ मात्र नाफा गरेको छ ।

कम्पनीको नाफा ८ करोड ८२ लाख रुपैयाँ घटेको छ । कम्पनीको कुल कारोबार रकम १४.६ प्रतिशत बढेपनि, कच्चा पदार्थको खर्च लगायतका अन्य खर्च बढेपछि यसको असर नाफामा परेको युनिलिभरले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ ।

यस अवधिमा युनिलिभरले १ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ कारोबार गरेको थियो । कम्पनीको यस अवधिमा एक अर्ब ४६ करोड खर्च गरेको छ ।

नाफामा घटेपछि युनिलिभरको प्रतिशेयर आम्दानी घटेर १ हजार ६१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ हजार १२१ रुपैयाँ थियो । कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख छ ।

त्यस्तै प्रतिशेयर खुदसम्पत्ति पनि घटेर २ हजार ४३१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ हजार ७९२ रुपैयाँ थियो ।
अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २० हजार २०० रुपैयाँ हाराहारीमा रहेको छ ।