शिवम सिमेन्टसको बिक्री घट्दा नाफामा साढे ४६ प्रतिशतको गिरावट

0
Shares

गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम सिमेन्टसको खुद नाफामा ४६.५१ प्रतिशतले गिरावट आएको छ ।

शिवमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८६ लाख रुपैयाँ मात्र नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको नाफा १७ करोड २७ लाख रुपैयाँले घटेको हो ।

सिमेन्ट बिक्रीमा कमी आएपछि नाफा घटेको उद्योगले जनाएको छ । सिमेन्टको माग घटेका बेला नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएकाले बिक्रीमा कमी आउँदा नाफामा असर परेको कम्पनीको भनाई छ ।

गत आर्थिक बर्षको यहि अवधिमसम्म २ अर्ब ७२ करोड बढीको सिमेन्ट बिक्री गरेको कम्पनीले चालु आर्थिक बर्षमा २ अर्बको मात्र सिमेन्ट बिक्री गर्न सकेको छ । कम्पनीले आफ्नो सिमेन्ट बिक्री लागि एक अर्ब ३७ करोड खर्च गरेको छ । जसबाट कम्पनीको आम्दानी ९८ करोड ९६ लाख बाट ६७ करोड ३३ लाखमा झरेको छ ।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको शेयरधनी कोषमा तीन अर्ब ४३ करोड छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ १८ पैसाबाट घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ । यस्तै कम्पनीले प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात २७.१९ गुणा रहेको छ।