ओरियण्टल होटल्सको नाफा ६७ प्रतिशतले घट्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओरियण्टल होटल्सले एक करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ । होटलको यो नाफा गत आवको सोही अवधीको तुलनामा ६७.५७ प्रतिशतले कम हो ।

गत आवको पहिलो त्रैमासमा होटलले ४ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । लाजिम्पाट काठमाडौंमा र्याडिसन होटल सञ्चालन गरिरहेको कम्पनीले चालु आवको असोज मसान्तसम्म व्यवसाय तथा सेवाको बिक्री मार्फत १६ करोड ५६ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा होटलले १९ करोड ६० लाख रुपैयाँ खुद आम्दानी गरको थियो ।

चालु आवको असोजसम्ममा ६ करोड ८५ लाख रुपैयाँ कर्मचारीलाई खर्च गरेको होटलले २ करोड ७१ लाख रुपैयाँ बरावरको खाद्यन्न र पेय पदार्थ खरिद गरेको छ । त्यसैगरी ३ करोड ३३ लाख सञ्चालन र १ करोड ७१ लाख ह्रासकट्टी र ३ करोड ६ लाख रूपैयाँ साधारण तथा कार्यालयमा खर्च गरेको देखिन्छ ।

चुक्ता पूँजी एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ रहेको होटलको जगेडा कोषमा एक अर्ब २० करोड २३ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १.२२९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २११.९१ रुपैयाँ छ । होटलको मूल्य आम्दानी अनुपात ४२०.०२ गुणा छ ।