कालिञ्चोकको आईपीओ भरेका स्थानीयको सेयर नपरेको रकम बुधबारसम्म फिर्ता भइसक्ने

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भरेर सेयर नपरेका स्थानीय बासिन्दाहरुको रकम माघ ४ गते बुधबारसम्म फिर्ता भइसक्ने भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडका अनुसार सेयर बाँडफाँड भएको पाँचौं दिनदेखि नै कनेक्ट आईपीएस मार्फत रिफन्ड सुरु गरिएको थियो । यस बीचमा धेरै लामो सार्वजनिक विदा परेका कारण रकम फिर्ता गर्न केही समय लागेको क्यापिटले जानकारी दिएको छ ।

नोटबजारसँगको कुराकानीमा क्यापिटलका एक अधिकारीले भने, “रकम फिर्ता पाँचौं दिनदेखि सुरु भैसकेको छ । कुन–कुनै आवेदकको खातामा रकम ट्रान्सफरमा समस्या पनि आएको छ । त्यस्ता आवेदकहरुको पनि छिटो सेलटमेन्ट गरिदिन बैंकहरुलाई मंगलबार पनि थप रिक्वेस्ट गरेका छौं । आवेदन फारममा उल्लेखित बैंक खातामा भोलिसम्म सबै आवेदकको खातामा सेयर नपरेको पैसा फिर्ता जान्छ । ”

ती अधिकारीका अनुसार कतिपय स्थानीय बासिन्दाहरुले घरपरिवारको सबैकोमा एक जनाको मात्रै बैंक खाता नम्बर उपलब्ध गराएकाले पनि केही समस्या भएको छ । बैंकहरुले बुधबारसम्म भेरिफाइड गरेर बैंक अकाउन्ट म्याच हुने भ्यालिड एकाउन्ट होल्डरहरु सबै आवेदकको रकम फिर्ता भइसक्ने उनले जानकारी दिए ।

कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई जारी गरेको आईपीओ पुस २० गते बुधबार बाँडफाँड भएको थियो । कम्पनीले मंसिर १४ गते देखि २८ गतेसम्म स्थानीय बासिन्दालाई जारी पुँजी ६० करोडको २ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सेयर जारी गरेको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको साधारण सेयर बाँडफाँडमा १२ हजार स्थानीय बासिन्दाले १० कित्ताका दरले हात पारेका थिए । कालिञ्चोक दर्शनले स्थानीय बासिन्दाका लागि जारी गरेको सेयरमा कुल १५ हजार ४११ वटा आवेदन परेकोमा २३१ जनाको आवेदन रितपुर्वक नपरेकाले रद्द गरिएको थियो भने १५ हजार १८० वटा आवेदनलाई सदर गरी सेयर बाँडफाँड गरिएको थियो । आईपीओमा मागभन्दा ५.२८ गुणा बढी अर्थात ६ लाख ३४ हजार ६१ कित्ताको माग परेको थियो ।

वैदेशिक रोजगारीमा रहेकाहरुको पनि रकम फिर्ता

यस्तै कालिञ्चोकले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको रकम पनि फिर्ता गरेको छ । वैदेशिक रोजगारीमा रहेकाहरुको रकम पनि बुधबारसम्म सबै फर्ता भइसक्ने क्यापिटलले जनाएको छ ।

स्थानीयको जस्तो वैदेशिक रोजगारीमा रहेकाहरुको सेयर फिर्तामा समस्या छैन । वैदेशिक रोजगारीमा रहेकाहरुले मेरो सेयर वा सि आश्वा प्रणाली मार्फत सेयर भरेकाले रोक्का रकम फुकुवा गरे पुग्छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुले अधिकतम २० कित्तासम्म सेयर हात पारेका छन् । सेयर बाँडफाँडमा वैदेशिक रोजगारीमा रहेर आवेदन दिएका ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सुरुमा रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई समान १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको थियो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता सेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथामा सहभागि गराएर तीमध्ये ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको थियो ।

कम्पनीले वैदेशिक वैदेशिक रोजगारीमा रहेकालाई सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । नेपाली नेपाली श्रमिकहरुका लागि पहिला पटक सेयर जारी गरेको हो । सो सेयर मंसिर १४ गते देखि २८ गतेसम्म बिक्री खुला गरेको थियो ।

सर्वसाधारणकाे सेयर खुला

कम्पनीले मंगलबारदेखि सर्वसाधारणलाइ सेयर खुला गरेकाे छ । सर्वसाधारणले ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ । यस्तै २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।