बैंक तथा वित्तीय संस्थाको निक्षेपमा आएको सुधारले तरलता सहज हुँदै गएपछि अन्तर बैंकदरमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ३२ अर्ब पुगेको छ । यो हालसम्मकै उच्च हो । बैंकहरुमा निक्षेप बढ्ने क्रमजारी रहदा तरलतामा सुधार हुन थालेपछि अन्तर बैंकदरमा निरन्तर गिरावट आएको हो ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरूले एक-आपसमा गर्ने अन्तरबैंक कारोबारको ब्याजदर गत ५.९५ प्रतिशतमा झरेको छ । बैंक वित्तीय संस्थामा निक्षेप थपिन थालेपछि तरलताको अवस्थामा आएको सहजताले अन्तर बैंक दर घटेको हो । बैंक तथा वित्तीय संस्थाले एक आपसमा छोटो अवधिका लागि लिने सापटको ब्याजदर अन्तर बैंक दर हो ।
वित्तीय संस्थाहरुले दैनिक कारोबारको राफसाफ तथा नियामकीय मापदण्ड पुरा गर्नका लागि एक अर्कासंग यस्तो सापट लिन्छन । तरलता अभाव भएको अवस्थामा अन्तर बैंक कारोबारमा रकम दिने भन्दा पनि सापट माग्ने नै धेरै भएपछि स्थायी तरलता सुविधा दर बराबर नै अन्तर बैंक दर पुगेको थियो ।
अन्तर बैंक सापट नपाएपछि बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन । एसएलएफ रेट ८.५ प्रतिशतसम्म छ । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले प्रयोग गर्ने एसएलएफ पनि घटेको छ ।
अन्तरबैंक कारोबारको ब्याजदर घटेपछि बैंकहरुले यस्तो सुविधा लिन छाडेका छन । एसएलएफ उपयोग नुहनु भनेको बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज भएको स्पष्ट हुन्छ । 
राष्ट्र बैकका अनुसार यहि पुस २८ गते बिहीबारसम्ममा बैंकहरुको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । पुस २७ गतेको तुलनामा १२ अर्बले निक्षेप थपिएको हो।
बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४७ खर्ब एक अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ६ खर्ब ३१ अर्ब छ । बैंकहरुमा १२ अर्ब निक्षेप थपिदा कर्जा प्रवाह भने ६ अर्ब मात्र भएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ९० अर्ब कर्जा परिचालन गरेका छन । वाणिज्य बैंकहरुले ४२ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका छन ।
बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.४७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया