साताभरमा सुनचाँदीको मूल्यमा उच्च गिरावट, कुन दिन कतिमा भयो कारोबार ?


काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा सुन तोलामा ६ हजार ५०० रुपैयाँले र चाँदी तोलामा २५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँमा पुगेको थियो ।

त्यसैगरी, सोमबार पनि सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । सोमबार एकैदिन सुन तोलामा ५ हजार रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार पनि सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बुधबार भने सुनको मूल्यमा गिरावट आएको थियो । बुधबार सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन सुन तोलामा १० हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८९५ रुपैयाँको कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ६४० रुपैयाँ पुगेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार  ०९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।