उच्च जोखिम रेटिङ्ग पाएको सानिमा मिडिल तमोरले आजदेखि खोल्यो आईपीओ बिक्री

0
Shares

केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउने क्रेडिट रेटिङ्ग दिएको सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले बुधबारदेखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग एजेन्सी ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । साधारणतया कम्पनीलेहरुले अंकित मूल्यमा नै सेयर बिक्री गर्ने भएकाले त्यति धेरै जोखिम नहुने गरेपनि कम्पनीको वित्तीय अवस्था भने निकै कमजोर देखिएको छ ।

यस कम्पनीको लगानीकर्ताले कम्पनीमा गरिएको साधारण लगानी फिर्ता पाउन करिब ७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता पाउन साढे १३ वर्ष लाग्ने देखिएको छ । कम्पनी गत आव २०७८।७९ सम्म ४ करोड रुपैयाँ नोक्सानीमा रहेको छ भने प्रतिसेयर आम्दानी २.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि अंकित मूल्यभन्दा तल ९८.४३ रुपैयाँ रहेको छ । ७३ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण लागत १३ अर्ब ३३ करोड रहेकाले प्रतिमेगावाट १८ करोड २६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई पहिलो चरणमा सेयर बिक्री खुला गरेको हो । कम्पनीले जारी गरेको सेयरमध्ये ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

जसमा आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नम्बर १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नम्बर १ तथा भिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २, मेरिङदेन गाउँपालिका वडा नम्बर २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ तथा मैवाखोला गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत बराबरले हुन आउने १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको छ ।

साथै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर छुट्टाएको छ ।

आईपीओमा माघ १८ गतेसम्म आवेदन दिन सकिन्छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशित सेयर सबै बिक्री नभएको खण्डमा ढिलोमा फागुन ४ गतेसम्म खुल्नेछ ।

कहाँबाट दिने आवेदन ?

कम्पनीको सेयर खरिका लागि स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएो छ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। आवेदन दिँदा प्रति दरखास्त फारामबापत आवेदकले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । त्यसका लागि रेमिट्यान्स खाता खोली पछिल्लो ६ महिनाभित्र उक्त खातामा कार्यरत मुलुकबाट नेपालमा न्यूनतम ५० हजार रुपैयाँ पैसा पठाएको हुनुपर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  सबै चरणको आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।