करशिक्षाः क–कसले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनु पर्दछ ?

0
Shares

कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायतमा काम गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनु पर्छ । आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्यले यस्ता सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ । यो नीतीगत व्यवस्थालाई ‘सबैका लागि स्थायी लेखा नम्बर’ समेत भनिन्छ ।

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचानका लागि दिइने अद्वितिय (युनिक) र स्थायी संकेत प्यान नम्बर हो । यो ९ अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधैभरी सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो ।

यसलाई अंग्रेजीमा पमानेन्ट अकाउन्ट नम्बर र छोटकरीमा प्यान भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सिर्जना हुने ९ अंकको स्थायी लेखा नम्बरको उदाहरणका लागि ३००३६२२५७ नम्बरलाई पनि लिन सकिन्छ ।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्ति समेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक , खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा प्यानको उल्लेख गर्न अनिवार्य भएकोले प्यान लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न प्यान लिए पछि सहज हुने भएकोले प्यान लिन आवश्यक छ ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्दछ ।

जुनसुकै ठाउँबाट इन्टरनेट मार्फत् फाराम डाउनलोड गरी अनलाईनबाट नै प्यानका लागि आवेदन गर्न सकिन्छ । यसरी अनलाईन आवेदन फाराम भर्दा प्राप्त भएको निस्सा (सब्मिशन नम्बर) लिई सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नुपर्दछ । रोजगारी गर्ने व्यक्तिले आफ्नो रोजगारदाता मार्फत् पनि व्यक्तिगत प्यान नम्बरका लागि आवेदन गर्न सक्दछन् ।

स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नम्बर प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नम्बर भने लिन सक्नेछन् ।
एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै प्यान नम्बर लिन सक्दछ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही प्यानमा कारोबार थप गर्नुपर्दछ ।

प्यान लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसँग ऋण लिन एवं राजस्व सम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ । प्यान लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु तपाईको लागि गौरवको विषय हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

प्यान एउटा स्थायी परिचयपत्र हो । यसको नवीकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालयरकरदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिन भित्र दिनुपर्नेछ ।

स्थायी लेखा नम्बर (प्यान) लिन देहायका कागजात पेश गर्नुपर्छ ?

व्यक्तिगत व्यवसायिक स्थायी लेखा नम्बर लिनको लागि एकलौटी फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु, प्रोप्राइटरको नागरिकताको प्रतिलिपी, मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र प्रोप्राइटरको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी आवश्यक हुन्छ ।

यस्तै व्यवसायिक स्थायी लेखा नम्बर लिनका लागि भने फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु, सञ्चालकहरुको नागरिकताको प्रतिलिपी, मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र संचालकको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी आवश्यक हुने गर्दछ ।

स्थायी लेखा नम्बर लिन समय लाग्दैन, तुरुन्त पाइन्छ । प्यान कार्ड लिन आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा स्वंम उपस्थित हुनु पर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।