कुमारी बैंकको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार खुल्दै

0
Shares

कुमारी बैंक लिमिटेडको २६ करोड २२ लाख सेयर कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकृत विनियमावली २०७५, बमोजिम नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन सक्नेगरी उक्त सेयर सूचीकृत भएको हो ।

साविक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एक आपसमा गाभिएपछि कुमारी बैंकको नाममा बिहीबार सेयर सूचीकृत भएको हो । दुई बैंक एक बराबर एक अनुपातको समान सेयर स्वाप रेसियोमा मर्जर भएका हुन् । दुई बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।

कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता दर्ता गरी समायोजित कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता सेयर कुमारी बैंकको नाममा कायम भएको हो ।

माघ ५ गतेको निर्णयअनुसार नेप्सेमा कुमारी बैंकको सेयर कारोबार गर्न योग्य हुनेगरी अद्यावधिक विवरण अभिलेख गरिएको हो । साथै मर्जर प्रयोजनका लागि रोक्का रहेको बैंकको सेयर कारोबार समेत फुकुवा भएको छ । रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा भए पश्चात् उक्त बैंकको सेयर अब आइतबारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

कुमारी बैंकको साधारण सेयरको स्टक सिम्बोल ‘केबीएल’ र संस्थापक (प्रोमोटर) सेयरको सिम्बोल ‘केबीएलपीओ’ रहेको छ ।

कतिमा खुल्छ कारोबार ?

नेप्सेले बैकको पहिलो सेयर करोबारका लागि न्यूनतम १८९.५६ रुपैयाँ कारोबार रेञ्ज तोकेको छ । यहि मूल्यलाई आधार माने बैंकको आइतबार दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।

एकीकृत कारोबारअघि गत पुस १४ गते बिहीबार कुमारी बैंकको सेयर अन्तिम पटक १९० रुपैयाँ तथा एनसीसी बैंकको अन्तिम पटक १८९ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।