गुराँस लाइफको खुद बीमा शुल्क आर्जन बढ्यो, नाफामा पनि सुधार

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क ९ करोड ३९ लाख रुपैयाँले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३५ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा शुल्क आर्जन बढाएको कम्पनीको नाफा पनि बढेको छ । कम्पनीले तीन महिनाको अवधिमा तीन करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको पहिलो त्रैमासकोे तुलनामा ३१ प्रतिशतले बढी हो। गत वर्षको पहिलो तीन महिनामा कम्पनीले दुई करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १५ करोड ११ लाख रुपैयाँ, बीमालेख धितोमा एक करोड दुई लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा इन्स्योरेन्सले २२ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सले ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४६ लाख रुपैयाँ असमाप्त जोखिम व्यवस्थापन गरेको छ ।
चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ९८ लाख, जीवन बीमा कोषमा ६ अर्ब २३ करोड ९८ लाख र महाविपत्ती कोषमा तीन करोड ९१ लाख रुपैयाँ छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ छ । इन्स्योरेन्सको मुल्य आम्दानी अनुपात २६.२९ गुणा बढी छ।