बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिने व्यवस्था गर्न निर्देशन

0
Shares

नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुहरूसँग यही माघ १३ गते शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूले केही हदसम्म बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था हुनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने र बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तररूपमा आयोजना गर्नुपर्ने विचार व्यक्त गरे ।

साथै, उनीहरूले बीमा व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि प्राधिकरणले निरीक्षण एवम् नियमनमा जोड दिनुपर्ने र बीमा अभिकर्ताका लागि समेत तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणबाट निर्देशन दिइएको जानकारी दिए ।

यसैगरी, यही माघ १३ गते शुक्रबार नै नुवाकोटको सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  विद्यार्थीहरूलाई बीमा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरू तथा कक्षा १०, ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यस्तै, नुवाकोटकै पञ्चकन्या गाउँपालिकामा यही माघ १२ गते विहिबार आयोजना गरिएको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि तथा कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, कृषकहरू लगायतको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई पनि समेट्ने र कृषि बीमाशूल्कमा गाउँपालिकाका तर्फबाट समेत अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै, उनले बीमा दाबीका लागि कागजात जुटाउन समस्या पर्ने गरेको र दाबी भुक्तानीमा पनि ढिलाई हुने गरेको उल्लेख गर्नुहुँदै बीमा दाबी भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आग्रह गरे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।