राष्ट्र बैंकले बुधबार ८ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बुधबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले यहि माघ १८ गते बुधबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८४ ‘झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । बुधबार जारी हुने ऋणपत्रको बोलकबोल भने मंगलबार हुनेछ ।

यो विकास ऋणपत्र ५ वर्षे अवधिको हुनेछ । माघ १८ गते बुधबार निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८४ माघ १८ गते हुनेछ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुकले माघ १७ गते मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।

यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २।५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ६ अर्ब ८० करोड (८५ प्रतिशत) र १ अर्ब २० करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।