नेशनल हाइड्रोपावरको बिग्रदो वित्तीय अवस्था‚ इपीएस ४२ बाट साढे १ रुपैयाँमा झर्‍यो

0
Shares

हकप्रद जारी गरेर लगानीकर्ताबाट हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत रक संकलन गर्न लागेको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय अवस्था ओरालो लागेको छ ।

कम्पनीको आम्दनी बढ्न नसक्दा समग्र सूचक घट्दो क्रममा देखिएका हुन् । कम्पनीको खुद नाफा, जगेडा कोष लगायतका सबैजसो सूचक घटेका हुन् । विद्युत बिक्री आय पनि न्यून मात्र बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १३.८२ प्रतिशतले घटेको छ । अघिल्लो पुसमा ८५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले हाल ७३ लाख ६१ हजार रुपैयाँ मात्र कमाएको हो ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ५८ लाख ९३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५ करोड ५५ लाख १३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । यसको वित्तीय खर्च ६१ लाख ३४ हजार रुपैयाँबाट बढेर ८१ लाख २३ हजार रुपैयाँ पुगेको छ । 

चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसामा झरेको छ । गत आवको सोही अवधिमा ४२ रुपैयाँ ३७ पैसा ईपीएस थियो ।

यस्तै कम्पनीको जगेडा कोषको आकार पनि २६ करोड ८ लाख रुपैयाँबाट घटेर ३ करोड १२ लाख रुपैयाँमा झरेको छ । कम्पनीले गत आवबाट चुक्ता पुँजीको १८.५३ प्रतिशत बोनस बाँडेको थियो ।

कम्पनीको प्रति सेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा, मूल्य आम्दानी अनुपात १४०.१३ गुणा छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको बोनस वितरण तथा सुनकोसी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि कायम हुने एकीकृत चुक्ता पुँजीको ५० प्रतिशत (८२ लाख २१ हजार ४५९ दशमलव ७१ कित्ता सेयर) हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन गर्न कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ भने भोजपुरमा सहायक कम्पनी मार्फत १४।१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।