ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २ प्रतिशत विन्दुसम्मले घट्यो, ओरालो तर्फ ब्याजदर

0
Shares

ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २ प्रतिशत विन्दुसम्मले घटेको छ । बैंक तथा वित्तीय संस्थाले लगानीको विकल्प नपाउँदा ट्रेजरी बिल्समा लगानी गर्ने प्रतिस्पर्धाले डिस्काउन्ट रेट घटेको हो ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । बैंकहरुमा कर्जाको माग नहुने र सरकारी ऋणपत्रको लगानी पछि घटाएपछि तरलता बढेको हो । त्यसका साथै प्रणालीमा केही निक्षेप पनि थपिदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता व्यवस्थापन गर्न प्रयोग गर्ने ले स्थायी तरलता सुविधा र ओभर नाइट रिपोमा सीमा तोकेसंगै सरकारी ऋणपत्रको लगानी घटाउन थालेका थिए । ट्रेजरीमा लगानी गरेपनि दैनिक तरलता व्यवस्थापनका लागि प्रयोग गर्न नपाउने भएपछि बैंक वित्तीय संस्थाले उच्च दरमा मोलमोलाई गर्दै आएका थिए । तर, लगानी नै ठप्प भएपनि अधिक तरलता झनै बढ्न थालेपनि सोमबार निष्कासन भएको ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाले डिस्काउन्ट रेट घटेर भएपनि खरिद गरेका हुन ।

सोमबार सरकारले आन्तरिक ऋण उठाउनका कुल २१ अर्ब १० ट्रेजरी निष्कासन गरेको थियो । त्यसमा २८ दिने ५ अर्ब, ९१ दिने ५ अर्ब १० करोड, १८२ दिने ५ अर्ब रुपैयाँ बरावरको पुरानो ट्रेजरीको नविकरण गरेको छ भने ६ अर्ब बरावरको नयाँ बिक्री गरेको हो । तर, बैंक वित्तीय संस्थाले सबैभन्दा धेरै करिब २ प्रतिशत विन्दुले डिस्काउन्ट रेट घटेर २८ दिने ट्रेजरी खरिद गरेको केन्द्रीय बैंकले जनाएको छ ।

सोमबार बोल भएको ट्रेजरी मध्ये २८ दिनेको औसत डिस्काउन्ट रेट ५.९००१ प्रतिशत कायम भएको छ । यसमा बैंक वित्तीय संस्थाले बोल गर्दा अधिकतम ७.४४९८ र न्यूनतम ५.३७०३ प्रतिशत माग गरेका थिए । यसभन्दा अघि पुस २६ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ७.९३३९ प्रतिशत रहेको थियो ।

त्यसैगरी ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय अधिकत १०.०४९१ र न्यूनतम ८.२४६६ प्रतिशत माग गरेका थिए । यसमा ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.१८९७ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि माघ १० गते निष्कासन भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.८१७२ प्रतिशत कायम भएको छ ।

सरकारले निष्कासन गरेको १८२ दिने ट्रेजरीका लागि बैंक/वित्तीय संस्थाले अधिकतम ११.०७०० र न्यूनतम ९.०९५७ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन् । यसको औसत डिस्काउन्ट रेट १०.३६८४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि पुस २६ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.००७९ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ३६४ दिने नयाँ ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम १०.७१८७ र न्यूनतम ९.५०५० प्रतिशत माग गरेका थिए । सो ट्रेजरीको औसत डिस्काउन्ट रेट १०.३७१५ प्रतिशत कायम भएको छ ।

यसअघि माघ १० गते निष्कासन भएको ३६३ दिने ट्रजरीमा बैंक वित्तीय संस्थाले धेरै ब्याज माग गरेपछि बिक्री नै भएन । सो भन्दा अघि पुस १९ गते निस्कासन भएको ३६४ ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.९३९६ प्रतिशत कामय भएको थियो ।

सोमबार निष्कासन भएको सबै ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट यसअघिको भन्दा थोरै हो । साथै निष्कासीत ट्रेजरी सबै बिक्री भएको पनि केन्द्रीय बैंकले जनाएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।