पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत आयोजनालाई ३२ लाख ४१ हजार ६१८ कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ ।
सेबोनले दोल्ती पावर कम्पनीलाई १६ लाख ९ हजार ४५८ कित्ता र भुगोल इनर्जी कम्पनीलाई १६ लाख ३२ हजार १६० कित्ता सेयर बिक्रीको अनुमति दिएको हो । दुबै कम्पनीलाई बोर्डले माघ १६ गते सोमबार अनुमति दिएको हो ।
दुबै हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि सेयर बिक्रीको अनुमति दिएको हो । दुईवटै कम्पनीले जारी पुँजीको ३० प्रतिशतका दरले सेयर सर्वसाधारणमा जारी गरेको हो ।
दोल्ती पावरले दैलेख जिल्लाको पदम खोला आयोजनाबाट ४.८० मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । आयोजनाले २०७९ साउन १३ गते धितोपत्र बोर्डमा आईपीओ बिक्री गर्न निवेदन दिएको थियो । कम्पनीले भदौ १२ गते विद्युत नियमन आयोगबाट समेत सेयर बिक्रीका लागि अनुमति पाएको थियो ।

दैलेखको नौमुले गाउँपालिकाको ८० करोडको लागतमा पदमखोलामा दोल्ती पावर जलविद्युत् आयोजना रहेको छ ।
उक्त जलविद्युत आयोजनाले निर्माण कार्य सुरु भएको १३ महीनामै निर्माणको काम सम्पन्न गरेर उत्पादन मिति भन्दा अगावै विद्युत उत्पादन थालेपछि नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिक उत्सवमा कम्पनी कदर पत्रबाट सम्मानित समेत भएको थियो ।
यस्तै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि दैलेख जिल्लामा ३.७५ मेगावाट क्षमताको साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्न २०७९ जेठ ४ गते धितोपत्र बोर्डमा आईपीओ बिक्री गर्न निवेदन दिएको थियो ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा उक्त कम्पनीलाई ‘इक्रा एनपी आईआर बी माइनस रेटिङ’ दिएको हो । इक्राले उक्त रेटिङ्ग पाउने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिन्छ ।
दुबै कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया