राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छिन् ।
सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाई समेत दिए ।
त्यसअघि नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले राष्ट्रिय सभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताएका थिए । उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताए । उनले भने, “लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अर्याल स्थापित महिला र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्नुभएको सफल व्यक्तित्व हुनुहुन्छ ।”
प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रिय सभाका सदस्यका रुपमा रहेकी सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए । उनले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राखे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छिन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मीएकी अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो ।
तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागकी अर्याल गत वर्ष भएको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी थिइन् ।
समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी छिन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालीसकेकी अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छिन् ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विसं २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
उनले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गरेकी छिन् । उनका महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशित छन् ।
राष्ट्रिय सहमतिको निरन्तरताः उपप्रधानमन्त्री श्रेष्ठ
यसअघि आजको बैठकमा सांसद अर्याललाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उपाध्यक्ष पदका लागि अरु सदस्यको उम्मेदवारी नपर्नु सरकारले पाएको राष्ट्रिय सहमतिको निरन्तरता रहेको बताए ।
“सरकारले विश्वासको मत लिँदा राष्ट्रिय सहमतिको सन्देश दिनेगरी मत पाएकोमा अहिले त्यसकै निरन्तरताका रुपमा उपाध्यक्षमा पनि राष्ट्रिय सहमतिको वातावरण बनेको छ”, उनले भने ।
यसले अत्यन्तै राम्रो र सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि अहिलेको मूल कार्यभार मुलुकको अर्थतन्त्रलाई अघि बढाउनु रहेको बताए ।
“राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सामाजिक न्याय सहित समृद्धिको अभियानलाई तीव्र बनाउन सबै राजनीतिक दल मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँदै जानुपर्ने आवश्यकता छ र त्यसको बोध सबैतिरबाट हुँदै गएको छ”, उनले भने ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया