सेल रोटी बिक्रीबाटै कसैले मासिक ६० हजार रुपैयाँसम्म बचत गर्छ भन्ने सुन्दा तपाइलाई विश्वास नलाग्न सक्छ । तर इटहरी उपमहानगरपालिका–२ का अम्बिका सुवेदी र रिता मिश्रले सेलरोटी पकाएरै मासिक ५० देखि ६० हजारसम्म बचत गर्ने गरेका छन् ।
अम्बिका सुवेदी र रिता मिश्र नाताले नन्द र भाउजु हुन् । नन्द, भाउजुले सोखका रूपमा थालनी गरेको सेलरोटीले विस्तारै व्यवसायको रूप लिँदा त्यसले व्यवसायिक रुप लिएको हो । उनीहरुले दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुने गरेको हो ।
सेलरोटीले विस्तारै व्यवसायको रूप लिन थालेपछि उनीहरुले यसका लागि कम्पनी दर्ता गरेर नै सेलरोटी पकाउँदै बिक्री गर्न थाले । सुरुमा सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । आइलागेको जिम्मेवारीलाई उनीहरु पनि झर्को नमानी पूरा गरिदिन्थे ।
विसं २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए । वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो । वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा १०० वटा सेलरोटीको अर्डर दिए ।

नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पु¥याइदिए । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उनीहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।
इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजुले सोखका रूपमा थाल्नुभएको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो । उहाँहरुले यसका लागि कम्पनी दर्ता गरे र सेलरोटी पकाउँदै बिक्री गर्न थाले ।
उनीहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’ मार्फत् सेलरोटी पकाउँदै आइरहेका छन् । यहि कामका लागि पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लगे । हाल उनको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ ।
हाल विराटनगर–२ उनीरुले स्टल राख्नुभएको छ । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भीड देख्न सकिन्छ । एक्स्पोमा नन्द र भाउजुले दैनिक ५०० देखि ८०० सेलरोटी बिक्री गर्दै आइरहेका छन् । एउटा सेलरोटीलाई ३० रुपैयाँमा बिक्री गर्छन् । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताइन् ।
मिश्रले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु सुरु गरेको बताउँछिन् । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको उनको भनाई छ । मिश्रका अनुसार उनीहरुले हाल दैनिक ३ हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।
सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताइन् । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया