सेयर लगानीकर्ता हौसिँदा एकैदिन ७६.६४ अंकको बढोत्तरी, २१७७ बिन्दुमा पुग्यो नेप्से

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार देशको बाह्य क्षेत्रमा समेत आशातित सुधार आएको वित्तीय अवस्था सार्वजनिक गरेपछि सेयर बजारका लगानीकर्ता हौसिएका छन् । यसले सेयर बजारमा उछाल नै आएको छ ।

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) का अनुसार मंगलबार बजार सूचक नेप्सेमा ३.६५ प्रतिशत अर्थात ७६.६४ अंकको उच्च बढोत्तरी देखिएको हो । यसदिन ठूला कम्पनीको सेयर कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२० प्रतिशतले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ ।

देशको अर्थतन्त्रमा देखिएको सुधारले सेयर बजारमा उछाल छाएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मुद्रास्फिती घट्दै देशको समग्र अवस्था सुधारोन्मुख देखिएको हो । यस अवधिमा विप्रषण आप्रवाह पुसमा मात्रै १ खर्ब ४ अर्ब बढेर ५ खर्ब ८५ अर्ब पुगेको छ । यस्तै शोधान्तर स्थीति ९७ अर्ब १० करोडले बचतमा पुगेको छ भने चालु खाता घाटामा पनि सुधार हुँदै २९ अर्ब ४७ करोड रुपैयाँमा सुधारिएको छ ।

सरकारले आयात प्रतिबन्ध हटाएपनि २०७९ पुस मसान्तमा कुल वैदेशिक सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थासँग कुल विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९÷८० को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.४० महिनाको वस्तु आयात र ९.१० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ ।

नेप्सेका अनुसार मंगलबार अघिल्लो दिनको तुलनामा १ अर्ब ८९ करोडले कारोबार बढेर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम मात्र होइन कारोबार संख्या र कित्तामा समेत अघिल्लो दिनको तुलनामा उच्च बढोत्तरी भएको छ । मंगलबार २६० कम्पनीका ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ५९ हजार ९२७ वटा संख्यामा खरिद बिक्री भएका छन् । सोमबार २५९ कम्पनीका ३९ लाख २२ हजार २१६ कित्ता सेयर २९ हजार ८६७ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४७ करोडमा समेटिएको थियो ।

नौं कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत धेरै वृद्धि

मंगलबार बजारमा ९ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राद्यी विद्युत कम्पनी र आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  यस्तै आजको बजारबाट रिडी पावर, ग्रीन भेञ्चर, ङादी ग्रुप पावर, किसान लघुवित्त, हिमालयन हाइड्रोपावरको सेयरधनीले पनि ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

उता मंगलबारको बजारबाट आईसीएफसी डिबेञ्चर २०८३ को इकाईमूल्य सर्वाधिक ५.९० प्रतिशतले घटेर १०१२.२० रुपैयाँमा झरेको छ । यस्तै एभरेष्ट बैंक डिबेञ्चर २०८६ को १.९५, एनआईबिएल प्रगति फन्ड १.६९, एसबिआई डिबेञ्चर १.५८ र लक्ष्मी बैंक डिबेञ्चर २०८८ को इकाईमूल्य १ं२९ प्रतिशतले घटेको छ ।

एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

आजको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको सेयर ८३५ रुपैयाँका दरले १ लाख ५४ हजार ७३७ कित्ता सेयर १२ करोड ९२ लाख ४२ हजार ७२६ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ३ करोड ४० लाख, नेपाल लाइफको ८ करोड ३ लाख, र हिमालयन डिष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेमा आएको उच्च बढोत्तरीले मंगलबार एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब १० अर्ब ६० करोड रुपैयाँले बढेको छ । सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३० खर्ब ३१ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ रहेकोमा मंगलबारको कारोबापछि ३१ खर्ब ४२ अर्ब २ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २४ माघ २०७९, मंगलबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।