सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई जरिवाना

0
Shares

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा राष्ट्र बैंकले प्रभु बैंक, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डू अर्थात हालको ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।

यी चार बैंकहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले जनाएको छ।

यस्तै नियामकीय मापदण्ड पूरा नगर्ने माछापुच्छ्रे, सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक,सिभिल बैंक, नबिल र प्रभु बैंकलाई पनि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

माछापुच्छ्रे  बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यासटिल एडिक्युसी फ्रेर्मवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको देखिएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै प्रभु बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन उल्लङ्घन हुने गरी तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंकलाई सचेत गराइएको जनाएको छ ।

यसैगरी तत्तकालिन नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन ।” भन्ने व्यवस्थाको अनुपालना नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नबिल बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था अनुसार ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै सचेत गराएको छ भने प्रभु बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको पाइएकोले सचेत गराएको हो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।