तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

आज बिहीबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धीत कम्पनीका सेयरधनीले ती कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

सगरमाथा इन्स्योरेन्सले गत आवको नाफाबाट १२.४० प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सले गत आवको नाफाबाट ६.९९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उता ज्योति विकास बैंकले गत आवबाट सेयरधनीलाई सेयरधनीहरुलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

तीनवटै कम्पनीहरुको सभाले प्रस्तावित लाभांश अनुमोदन गर्ने, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछन् । सबै कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गर्नेछन् ।

सगरमाथा र लुम्बिनी दुबै कम्पनीले फागुन ११ गते साधारण सभा आह्वान गरेका छन् । सगरमाथाले लैनचौर बैंक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे र लुम्बिनी जनरलले अमृतभोग क्याटरिङ, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको छ ।

सभामा सगरमाथा र लुम्बिनी जनरलबी एक आपसमा गाम्नेगाभिने तथा मर्जर प्रकृयाका लागि भए गरेका सम्झौताहरु अनुमोदन गर्ने, सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्स्यारेन्स कम्पनी लिमिटेड’ कायम गर्ने, दुई कम्पनीबीचको सेयर स्वाप रेसियो १००ः८० (सगरमाथाको १०० कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता) लाई स्वीकृत गर्ने लगायतका रहेका छन् । दुई कम्पनीबीच माघ १७ गते मर्जरका लागि अन्तिम सम्झौता भैसकेको छ ।

ज्योति विकास बैंकले फागुन १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले ज्योति विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।