राष्ट्र बैंकले नीतिगत दर चलाएपनि बैंकहरुले ब्याजदर नघटाउने

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत बैंक दर घटाएपनि बैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बैंकरहरुले बिहीबार नै सहमती गरेर फागुन महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकले बैंक दर घटाएको खण्डमा आफुहरुले पनि घटाउन पर्ने भएकाले बैंकहरुले चलाखि अपनाउदै बिहीबार नै यथावत राख्ने निर्णय गरेका हुन ।

हाल बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरेका छन् । माघ महिनाका लागि १.३३ प्रतिशत विन्दुले घटाएर ११ प्रतिशतमा झारेका थिए । ब्याजदर उच्च रहेको चौतर्फी विरोध भएपनि बैंकरहरुले तरलताको अवस्थामा आसातित सुधार नआएको भन्दै फागुन महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन ।

तर, पछिल्लो समयमा अल्पकालिन ब्याजदर पनि निरन्तर ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले माघ २८ गतेसम्मका लागि बजारमा पठाएको ४५ दिने रिपोका कारण तरलता अधिक देखिएको हो । त्यसले अल्पकालिन ब्याजदर समेत घटेको हो ।

उक्त दिर्घकालिन रिपो माघ २८ देखि परिपक्क हुने भएकाले बैंकहरुले तरलताको अवस्था पुन जटिल हुने आँकलन गर्दै ब्याजदर यथावत राख्ने निर्णय गरेको एक बैंकरले बताए । “केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा मार्फत बैंक दर परिवर्तन नै गरेपनि फागुन महिनामा बैंकहरुले दिने ब्यजदर परिवर्तन हुदैन,” ती बैकरले भने,“फागुन महिनाका लागि ब्याजदर नचलाउने निर्णय भएको छ ।”

पछिल्लो समयमा बैंकहरुको उच्च ब्याजदरको चौतर्फि विरोध भैरहेको छ । तर, राष्ट्र बैंकले वृद्धि गरेको बैंक दर नघट्दासम्म बैंकहरुले ब्याजदर नघटाउने पक्षमा देखिएका हुन । ब्याजदर घटाउने दबाब आउदा केन्द्रीय बैंकले बैंक दरलाइ नचलाई बैंकहरुको कर्जा निक्षेप विचको ब्याजदर अन्तर(स्प्रेड)घटाउने निर्णय गरेको थियो ।

हाल नेपाल राष्ट्र बैंकले तोकेको बैंक दर अर्थात स्थायी तरलता सुविधा दर ८.५ प्रतिशत रहेको छ । त्यसैगरी नीतिगत दर भने ७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बजारमा पठाएको तरलताका कारण अन्तर बैंक दर भने घटेर ४.१० प्रतिशत कायम भएको छ । त्यसका साथै टे«जरी बिल्सको डिस्काउन्ट रेट समेत घटेर एकल अंकमा आउन थालेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।