प्राइममा विलिन हुन लागेको कैलाश विकास बैंकको यस्तो रह्यो पहिलो त्रैमास

0
Shares

प्राइम कमर्सियल बैंकमा आफुलाई विलिन हुने सम्झौता गरेको कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैजसो सूचाङ्कमा सामान्य मात्र बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६ लाख १८ हजार रुपैयाँ सुधार भएर १७ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५२ करोड ६ लाख रुपैयाँ चुक्त पूँजी रहेको बैंकको यस त्रैमासमा बैंकको जगेडा कोषको आकार स्थिर छ । बैंकको जगेडा कोष ८० करोड ५२ लाख रुपैयाँ छ । बैंकको रिटेन्ड अर्निङ्ग भने उल्लेख्य बढेको छ। गत आवको असोज मसान्तमा ४७ करोड ३३ लाख रहेकोमा ६२ करोड ३२ लाख पुगेको हो।

निक्षेप संकलन लागत बढदा बैंकको ब्याज खर्च उच्च हुँदा बैंकको खुद ब्याज आम्दानी सामान्य मात्र बढेको छ । उसो त बैंकको निक्षेप संकलन र कर्जा विस्तारमा पनि उतिसारो वृद्धि देखिँदैन। कर्मचारी खर्च र सञ्चालन खर्चका सूचकहरुलाई नियन्त्रण गर्दा गर्दै बैंकले थोरै भएपनि नाफा बढाएको हो ।

असोज मसान्तसम्मा २७ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २७ अर्ब २२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकले ३८ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ३३ लाख खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ०.३१ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६७ पैसा, कोषको लागत ८.६४ प्रतिशत, आधारदर ११.३१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.४८ प्रतिशत छ ।

प्राइम कमर्सियल बैंकसँग मर्जरका कारण बैंकको शेयर कारोबार अहिले रोक्का छ।