अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी १४९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनी ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानीमा पुगेको हो । गत आवको सोही अवधिमा कम्पनी ३३ करोड ५ लाख १७ हजार रुपैयाँ मात्र नोक्सानीमा रहेको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष नोक्सानी बढेर ३ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो पुसको तुलनामा जगेडा कोष नोक्सानी २ अर्ब ५९ करोडले बढेको हो ।
चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । गत कार्तिक ८ देखि १८ गतेसम्म कम्पनीको सबै युनिट बन्द भएको तथा पहिलो त्रैमासको तुलनामा सुख्खा यामका कारण विद्युत उत्पादन कम भएका कारण कम्पनी नोक्सानीमा पुगेको हो ।
समीक्षा अवधिमा अपर तामाकोशीले ब्याजबाट ३ करोड ४८ लाख ५९ हजार आम्दानी गरेको छ भने अन्य आम्दानीबाट ५ लाख ११ हजार रुपैयाँ कमाएको छ । आयोजनाको ऋण भुक्तानीका लागि चालु आवको ६ महिना अवधिमा कम्पनीले ३ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै ह्रासकट्टी वापत १ अर्ब ८६ करोड ५८ लाख, रोयल्टी वापत १२ करोड ४१ लाख खर्च गरेको छ ।
आयोजना निर्माण सम्पन्न अवधी बढ्न गइ समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले ह्रासकट्टि खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ ।
राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७८ भदौ २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ । आयोजनाको आम्दानीको तुलनामा खर्च अधिक हुँदा हालको अवस्थाले वार्षिक डेढ खर्ब बढी नोक्सानीमा पुग्ने देखिएको छ ।
कम्पनीले सेयरधनीबाट १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी २०७९ भदौ ३ गतेको १४ औं वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित समेत गरेको छ । हकप्रद सेयर जारी पश्चात कम्पनीको वित्तीय सूचकहरूमा सुधार हुने अपेक्षा कम्पनीको छ ।
विसं २०७९ पुस मसान्तसम्मको निर्माण अवधिको व्याज र ऋण समेतको एकमुष्ठ साँवा यकिन गरी १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी आवकाे पुससम्ममा नेपाल सरकारका दुई तथा अन्य संस्थाका चार किस्ता साँवा तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले कम्पनीको ऋण र स्वपुँजी अनुपातको सुधार, दोस्रो चरणको निर्माण अन्तर्गतको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्त व्यवस्थापन र आयोजना निर्माण सम्बन्धी बाँकी रहेका भुक्तानीको लागि हकप्रद बिक्री गर्ने निर्णय गरेको छ ।
अपर तामाकोशीको प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ । अघिल्लो आवको यसै अवधिमा ३ रुपैयाँ १२ पैसा ऋणात्मक रहेको कम्पनीको इपिएस चालु आवमा ७ रुपैयाँ ७९ पैसा ऋणात्मक बन्न पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ४८ पैसा घटेर ६२ रुपैयाँ ३८ पैसामा संकुचित बनेको छ । गत आवको यसै अवधिमा ८६ रुपैयाँ ८६ पैसा रहेको थियो ।
नेपाल विद्युत प्राधिकरण मार्फत नेपाल सरकारबाट तथा कम्पनीका संस्थापक सेयरधनीहरू नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋण ४१ अर्ब (निर्माण अवधीको व्याज सहित) रहेको छ । विद्युत प्राधिकरणबाट प्राप्त भएको अल्पकालीन ऋण ४ अर्ब रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया