६ आर्थिक पत्रकारलाई सेजन अवार्ड


नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । पाँच विधामा प्रदान गरिएको पुरस्कारको कुल राशी ३ लाख १ हजार रुपैयाँ रहेको छ । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन् । एक लाख पुरस्कार राशिको सेजन अवार्ड अन्नपूर्णपोष्टका ममता थापा र सुरेन्द्र काफ्लेले संयुक्त रुपमा पाएका छन् । उनीहरूले संयुक्त रुपमा लेखेको ‘बिहानीपख जब पूर्व नासुले बजेट चलाए’ शीर्षकको समाचार सर्वोत्कृष्ट घोषित भएको निर्णायक समितिका संयोजक तथा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले जानकारी दिए । 

सेजन छापामाध्यम अवार्ड टक्सार म्यागजिनका सम्पादक गजेन्द्र बुढाथोकीले पाएका छन् । उनले ‘कोकाकोला किनबेचमा कर छली’ शीर्षकमा रिपोर्टिङ गरेका थिए । प्रसारण तर्फको सेजन ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोरके टेलिभिजनमा कार्यरत पत्रकार  विनय बन्जराले पाएका छन् । वित्तिय पहुँचमा विवाद शीर्षकमा प्रसारित समाचारले सो पुरस्कार जितेको हो । 

त्यस्तै सेजन डिजिटल अवार्ड पत्रकार माधवदुलालले पाएका छन् । नेपालको पर्यटन प्रवद्र्धन भएको छैन,एयर कनेक्टीभिटी, महँगो हवाइ भाडा विषयमा प्रकाशित समाचारलाई यो अवार्ड प्रदान गरिएको हो । त्यस्तै स्वर्गीय डा.भोलाचालिसे लिवरल जर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका कृष्ण आचार्यले पाएका छन् । उनले पोलिसी ह्याक शीर्षकमा रिपोर्टिङ गरेका थिए ।

त्यस्तै सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कारोबार दैनिकमा कार्यरत कौशिला कुँवर सम्मानित भएकी छन् । सहकारीले घर जग्गामा लगानी गर्दा सर्वसाधारणको बचतमा कति जोखिम परेको छ भन्ने विषयमा अनुसन्धान गरेर लेख्नका लागि फेलोसिप दिइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।