उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव क्वात्राबीच रक्सौल–काठमाडौँ रेल्वे निर्माणबारे छलफल

0
Shares

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच रक्सौल–काठमाडौँ रेल्वे निर्माण सम्बन्धमा प्रारम्भिक छलफल भएको छ ।

भारतीय पक्षले लगानी गरेका आयोजनाबारे छलफलका क्रममा रक्सौल–काठमाडौँ रेल्वे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको हाे ।मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले भारतीय पक्षले लगानी गरेका आयोजना, नेपालको रेल्वे, नेपाल–भारतबीच भएका सन्धि सम्झौता र आर्थिक समृद्धि लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेल्वे सञ्चालनका लागि दक्ष बनाउने विषय सकारात्मक र महत्वपूर्ण भएको बताएका थिए । त्यसलाई आफूहरूले आत्मसात् गर्ने उनको भनाइ थियो ।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए । जयनगर–कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसिएल’ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन् ।

रेल्वे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेल्वे अप्रेसनको काम गर्नसक्ने सचिव क्वात्राले बताएका थिए । त्यसो गर्नसके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने उनको भनाइ थियो ।

सचिव क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका छन् । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताएका थिए ।

नेपाल–अमेरिका सहकार्यका लागि छलफल

यसैबिच संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप–सहायक विदेशमन्त्री अफ्रिन अख्तर र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सहकार्य र आपसी हितका अन्य विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।