उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन ६ वर्षसम्म पनि सकिएन

0
Shares

लमजुङमा निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर १२० केभी प्रसारण लाइनको काम पटक पटक म्याद थपिएपन काम भने ६ वर्षसम्म पनि सकिएको छैन । तीन वर्षमै सक्नुपर्ने काम ६ वर्ष हुँदा समेत नसकिएको हो ।

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन म्याद थपिन्छ तर काम सकिँदैन । प्रसारण लाइनको म्याद तीन पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो ।  ‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ’, रेग्मीले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पु¥याउनका एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ ।

लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् । दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पु¥याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ ।

उदिपुरबाट मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।